ULB · अध्याय 107 / 150
भजनसंग्रह 107
1परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ।
2परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ।
3उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ।
4तिनीहरू मरुभूमिको बाटोमा उजाडस्थानमा भौंतारिए र बस्नलाई कुनै सहर भेट्टाएनन्।
5किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए।
6तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो।
7उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्नलाई एउटा सहरमा जान पाऊन्।
8परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
9किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ।
10कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्ट र साङ्लाहरूमा बसे।
11तिनीहरूले परमेश्वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्चको सल्लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो।
12उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो। तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन।
13तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो।
14उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो।
15परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
16किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ।
17आफ्ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्ना पापहरूका कारणले कष्टमा परे।
18तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे।
19तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो।
20उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो।
21परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
22तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून्।
23केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन्।
24यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे।
25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो।
26तिनीहरू माथि आकाशसम्म पुगे। तिनीहरू तल गहिराइहरूमा गए। तिनीहरूका जीवन संकष्टमा बिलेर गयो।
27तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो।
28तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो।
29उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्त भए।
30तब तिनीहरू आनन्दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्छा गरेको बन्दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो।
31परमप्रभुको करारको विश्वस्तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
32तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून्।
33उहाँले नदीहरूलाई उजाडस्थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,
34र यसका मानिसहरूका दुष्टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्छ।
35उहाँले उजाडस्थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्छ।
36भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्नलाई एउटा सहर बनाउँछन्।
37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्त उब्जनी ल्याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन्।
38उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्छन्। उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्न।
39पीडादायी संकष्ट र दुःखले तिनीहरूको सङ्ख्या घट्यो र तल झारिए।
40उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन।
41तर खाँचोमा परेकाहरूलाई उहाँले कष्टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ।
42सोझो मन भएकाहरूले यो देख्नेछन् र आनन्दि हुनेछन्। सबै दुष्टताले आफ्नो मुख बन्द गर्छ।
43बुद्धिमान्हरूले यी कुराहरूमा ख्याल गर्नुपर्छ र परमप्रभुको करारको विश्वस्तताका कामहरूमा ध्यान गर्नुपर्छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org