ULB · अध्याय 95 / 150
भजनसंग्रह 95
1आओ, परमप्रभुको निम्ति हामी गाऔं। हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं।
2उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं। प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं।
3किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ।
4पृथ्वीको गहिराइ उहाँको हातमा छ। पहाडहरूका उच्चाइहरू उहाँकै हुन्।
5समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो। अनि सुख्खा जमिन उहाँकै हातले बनाए।
6आओ, हामी आराधना गरौं र घोप्टो परौं। हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं।
7किनकि उहाँ हाम्रो परमेश्वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं। आज, तिमीहरूले उहाँको सोर सुन्नेछौ।
8“मेरीबामा वा उजाडस्थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,
9जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे।
10किनकि चालिस वर्षसम्म म त्यो पुस्तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन्। तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।'
11यसकारण मैले आफ्नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन्।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org