ULB · अध्याय 10 / 150
भजनसंग्रह 10
1हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
2आफ्नो अहङ्कारको कारणले दुष्ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन्। तर दुष्टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस्।
3किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ। त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ।
4दुष्ट मानिसको मुहार अहङ्कारपूर्ण छ। त्यसले परमेश्वरलाई खोज्दैन। त्यसले परमेश्वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्तै गर्दैन।
5त्यो हर समय ढुक्क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्च छन्। त्यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ।
6त्यसले आफ्नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्नँ। सारा पुस्ताभरि नै मैले दुर्दिन देख्नेछैन।”
7त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ। त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ।
8त्यो गाउँको नजिकै ढुकेर बस्छ। गुप्त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ। त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ।
9सिंह झाडीमा लुकेझैं त्यो गुप्तमा ढुक्छ। थिचोमिचोमा परेकाहरूलाई समात्न त्यो पर्खेर बस्छ। त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ।
10त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन्। तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन्।
11त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ। उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ। उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन।”
12हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस्।
13किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?
14तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ। बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ। तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ।
15दुष्ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस्। त्यसलाई आफ्नो दुष्ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्न भनी त्यसले सोच्यो।
16परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ। जातिहरू उहाँको देशबाट लखेटिन्छन्।
17हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्नुभएको छ। तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ।
18तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस्।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org