Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 9

ULB · अध्याय 9 / 150

भजनसंग्रह 9

1हे परमप्रभु, म तपाईंलाई आफ्‍नो सारा हृदयले धन्यवाद दिनेछु। तपाईंका सबै अचम्‍मका कामहरूको वयान म गर्नेछु।

2तपाईंमा म खुसी र आनन्‍दित हुनेछु। हे सर्वोच्‍च, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु।

3जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन्।

4किनकि तपाईंले मेरो न्‍यायोचित मामलाको रक्षा गर्नुभएको छ। हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्‍नुहोस्!

5जातिहरूलाई तपाईंले हप्काउनुभयो। दुष्‍टहरूलाई तपाईंले नाश गर्नुभएको छ। तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ।

6जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्‍नावशेषहरूझैं टुक्रा-टुक्रा भए। तिनीहरूका सबै सम्झना नष्‍ट भयो।

7तर परमप्रभु सदासर्वदा रहनुहुन्छ। न्यायको निम्ति उहाँको आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ।

8उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ।

9अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्‍टको समयको एउटा शरणस्‍थान हुनुहुनेछ।

10तपाईंको नाउँ जान्‍नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्‍नेहरूलाई तपाईंले त्याग्‍नुहुन्‍न।

11परमप्रभुको स्‍तुति गाओ, जसले सियोनमा राज्‍य गर्नुहुन्छ। उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन।

12किनकि रक्‍तपातको बदला लिनुहुने परमेश्‍वरले सम्झनुहुन्छ। थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्‍न।

13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ।

14जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ। सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्‍दित हुनेछु।

15जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन्। तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन्।

16परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ। उहाँले न्यायको फैसला गर्नुभएको छ। दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन्। सेला

17दुष्‍टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्‍वरलाई बिर्सिन्छन्।

18किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन।

19हे परमप्रभु, उठ्नुहोस्। मानिसले तपाईंलाई जित्‍न नपाऊन्। तपाईंको दृष्‍टिमा जातिहरूको न्याय गरियोस्।

20हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस्। तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून्। सेला

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org