ULB · अध्याय 86 / 150
भजनसंग्रह 86
1हे परमप्रभु, सुन्नुहोस् र मलाई जवाफ दिनुहोस्, किनकि म गरीब र थिचोमिचोमा परेको छु।
2मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु। हे मेरो परमेश्वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस्।
3हे परमप्रभु, मप्रति दयालु हुनुहोस्, किनकि म दिनभरि तपाईंलाई पुकारा गर्छु।
4तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्नो प्राण तपाईंमा उचाल्नेछु।
5हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्छ।
6हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्। मेरो बिन्तीको सोर सुन्नुहोस्।
7कष्टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ।
8हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन। तपाईंका कामहरूझैं कामहरू भएकै छैनन्।
9हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन्। तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन्।
10किनकि तपाईं महान् हुनुहुन्छ र अचम्मका कुराहरू गर्नुहुन्छ। तपाईं मात्र परमेश्वर हुनुहुन्छ।
11हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस्। तब तपाईंको सत्यतामा म हिंड्नेछु। तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्याउनुहोस्।
12हे परमप्रभु मेरो परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु।
13किनकि मप्रति तपाईंको करारको विश्वस्तता महान् छ। तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ।
14हे परमेश्वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन्। हिंसात्मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन्। तिनीहरूले तपाईंको वास्तै गर्दैनन्।
15तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ।
16मतरि फर्किनुहोस् र ममाथि दया गर्नुहोस्। आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस्। तपाईंको सेविकाको छोरालाई बचाउनुहोस्।
17मलाई तपाईंको कृपाको चिन्ह देखाउनुहोस्। तब मलाई घृणा गर्नेहरूले यो देख्नेछन् र लज्जित हुनेछन्, किनभने तपाईं परमप्रभुले नै मलाई सहायता गर्नुभएको र मलाई सान्त्वना दिनुभएको छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org