Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 35

ULB · अध्याय 35 / 150

भजनसंग्रह 35

1हे परमप्रभु, मेरो विरुद्धमा काम गर्नेहरूका विरुद्धमा काम गर्नुहोस्। मेरो विरुद्धमा युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गर्नुहोस्।

2तपाईंको साना ढाल र ठुला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस्।

3मलाई खेद्‍नेहरूका विरुद्धमा तपाईंको भाला र बन्‍चरो प्रयोग गर्नुहोस्। मेरो प्राणलाई भन्‍नुहोस, “म नै तेरो उद्धार हुँ।”

4मेरो ज्याल लिन खोज्‍नेहरू लजजित र अपमानित होऊन्। मेरो हानि गर्न योजना रच्‍नेहरू पछि हटून् र व्‍याकुल होऊन्।

5परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैं होऊन्।

6परमप्रभुका दूतले तिनीहरूलाई खेद्‍दा तिनीहरूका मार्ग अँध्यारो र चिप्‍लो होस्।

7विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन्। विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन्।

8विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस्। तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस्। तिनीहरूको विनाशको निम्ति त्‍यसमा तिनीहरू नै फसून्।

9तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु।

10मेरा सबै हाडहरूले भन्‍नेछन्, “हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्‍दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्‍छ?”

11अधर्मी साक्षीहरू खडा हुन्छन्। तिनीहरू मलाई झुटो दोष लगाउँछन्।

12तिनीहरूले मलाई भलाइको सट्टा खराबी गर्छन्। म दुःखी छु।

13तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ। मेरो शिर छातीमा निहुर्‍याएर मैले तिनीहरूको निम्ति उपवास बसें।

14मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें। मेरी आमाको निम्ति झैं मैले विलाप गरें।

15तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए। तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्‍क पारे। तिनीहरूले मलाई निरन्तर हप्‍काए।

16कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्‍ला गरे। तिनीहरूले क्रोधमा ममाथि आफ्‍ना दाँत किटे।

17हे परमप्रभु, कहिलेसम्म तपाईं हेर्नुहुन्छ? तिनीहरूका विनाशपूर्ण आक्रमणबाट मेरो प्राणलाई, र सिंहहरूबाट मेरो जीवनलाई बचाउनुहोस्।

18तब ठुलो सभामा म तपाईंलाई धन्यवाद दिनेछु। धेरै जना मानिसका माझमा म तपाईंको प्रशंसा गर्नेछु।

19मेरा छली शत्रुहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस्। तिनीहरूका दुष्‍ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस्।

20किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन्। तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन्।

21मेरो विरुद्धमा तिनीहरूले आफ्‍ना मुख चौडा खोल्‍छन्। तिनीहरूले भने, “आहा, आहा, हाम्रा आँखाले देखेका छन्।”

22हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, चूप नलाग्‍नुहोस्। हे परमप्रभु, मबाट टाढा नहुनुहोस्।

23आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस्। हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस्।

24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस्। तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस्।

25तिनीहरूले आफ्‍नो हृदयमा यसो नभनून्, “आहा, हामीले जे इच्‍छा गर्‍यौं सो पाएका छौं।” तिनीहरूले यसो नभनून्, “हामीले त्यसलाई निलेका छौं।”

26मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन्। ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस्।

27मेरो निर्दोषताको इच्छा गर्नेहरू आनन्दले कराऊन् र खुसी होऊन्। तिनीहरूले निरन्‍तर यसो भनून्, “परमप्रभुको प्रशंसा होस्, जो आफ्नो सेवकको भलो हुँदा खुसी हुनुहुन्छ।”

28तब म तपाईंको न्यायको बारेमा भन्‍नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org