Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 141

ULB · अध्याय 141 / 150

भजनसंग्रह 141

1हे परमप्रभु, तपाईंमा म पुकारा गरिरहेको छु। मकहाँ चाँडो आउनुहोस्। मैले तपाईंलाई पुकारा गर्दा मेरो पुकार सुन्‍नुहोस्।

2मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस्। मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन्।

3हे परमप्रभु, मेरो मुखमा रक्षक राख्‍नुहोस्। मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस्।

4मेरो हृदयले कुनै कराब कुराको इच्‍छा नगरोस् वा दुष्‍ट किसिमले व्‍यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस्। तिनीहरूका कुनै स्वादिष्‍ट कुराहरू मैले खान नपरोस्।

5धर्मी मानिसले मलाई हिर्काओस्। त्‍यो मेरो निम्ति दया हुनेछ। त्यसले मलाई सच्याओस्। त्‍यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ। मेरो शिरले त्‍यो स्वीकार गर्न इन्कार नगरोस्। तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्‍ट कामहरूको विरुद्धमा हुन्छ।

6तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ। मेरा आफ्नै शब्‍दहरू सुखद छन् भनी तिनीहरूले सुन्‍नेछन्।

7तिनीहरूले भन्‍नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन्।”

8हे परमप्रभु परमेश्‍वर, मेरा आँखाहरू निश्‍चय नै तपाईंमा हुन्‍छन्। तपाईंमा नै म शरण लिन्छु। मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस्।

9तिनीहरूले मेरो निम्‍ति राखेका पासोहरूबाट, दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट मलाई सुरक्षित राख्‍नुहोस्।

10म भागेर बाँच्‍दा दुष्‍टहरू आफ्नै पासोहरूमा फसून्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org