नबूकदनेसरले बेबिलोनलाई भव्य रूपमा फेरि बनाए। निलो चम्किलो इँटा र साँढे तथा अजिङ्गरहरूका पङ्क्तिहरूले मोडिएको यसको इश्तार ढोकालाई उत्खननमा भेटिएका टुक्राहरूबाट बर्लिनमा फेरि खडा गरिएको छ।
बाइबलमा · 587/586 ई.पू. · यरूशलेम
यरूशलेमको पतन
नबूकदनेसरको बेबिलोनी सेना यरूशलेममा पस्छ, मन्दिर जलाउँछ र मानिसहरूलाई निर्वासनमा लैजान्छ।
राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए। तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले। त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो। त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन। तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए। राजा अराबाको दिशातिर गए। तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए। तिनका सबै सेना तिनीबाट तितर-बितर भए। तिनीहरूले राजालाई गिरफ्तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए। तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए। अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए। परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए। सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए। अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्ट पारिदिए। बेबिलोनका राजालाई वेवास्ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्बन्धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे। तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी र खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए। परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे। भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे। राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए। सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्नै सकिंदनथ्यो। पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो। स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो। अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए। सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे। मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्ट मानिसलाई पनि तिनले कैद गरेर लगे। तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए। बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो।त्यही समयमा संसारमा
बेबिलोनका नबूकदनेसरले 597 ई.पू. मा यरूशलेम कब्जा गरे र 587 वा 586 ई.पू. मा यसलाई नष्ट गरे (स्रोतहरूले दुवै सम्भव देखाउँछन्)। एउटा बेबिलोनी इतिवृत्तको पाटीले त पहिलो कब्जाको दिन पनि दिन्छ: अदारको 2 गते, 597 ई.पू. को मार्चको मध्यमा। यहाँ ती वर्षहरूको संसार छ।
हेरोडोटस बताउँछन्, मिलेतसका दार्शनिक थेलिसले एउटा सूर्यग्रहणको भविष्यवाणी गरे, जसले लिडियाली र मादीहरूबीचको युद्ध रोकिदियो; खगोलशास्त्रीहरूले यसको मिति 28 मे 585 ई.पू. तोक्छन्। थेलिसले साँच्चै यसको भविष्यवाणी गरे कि गरेनन् भन्नेमा विवाद छ।
आजको पश्चिमी टर्कीको लिडियामा पहिला सिक्काहरू इलेक्ट्रम, सुन र चाँदीको प्राकृतिक मिश्रण, बाट ढालिए र तिनमा सिंहको टाउकोको छाप लगाइयो। त्यसअघि चाँदी जोखेर दिइन्थ्यो, जसको सम्झना शेकेल शब्दले, अर्थात् “तौल” ले, दिलाउँछ।
मगिद्दोमा राजा योशियाहलाई मार्ने फारो नेको द्वितीयले (2 राजाहरू 23:29) नील नदीदेखि लाल समुद्रसम्म एउटा नहर खन्न सुरु गरे। हेरोडोटसले यो पनि बताउँछन्, कि तिनले पठाएका नाविकहरूले अफ्रिकाको परिक्रमा गरे।
मिलेतसका ग्रीकहरूले कालो सागरको उत्तरी किनारमा व्यापारिक सहरहरू स्थापना गरे: लगभग 600 ई.पू. तिर पान्तिकापायोन, आजको क्रिमियाको केर्च, र आजको युक्रेनमा दक्षिणी बुगको मुखनजिक ओल्बिया। तिनीहरूले अन्न र माछासँग दाखमद्य र जैतूनको तेल साटे।
उत्तरी भारतमा गङ्गा र यसका सहायक नदीहरूका किनारका नयाँ सहरहरूवरिपरि सोह्रवटा राज्य र गणराज्य, महाजनपदहरू, विकसित भए। तीमध्ये एक, मगध, पछि भारतका पहिला ठुला साम्राज्यहरूको केन्द्र बन्यो।
स्रोतहरू: Theographic Bible Metadata, CC BY-SA 4.0 · OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार