अश्शूरका शलमनेशेर तेस्रोले सिरियामा ओरोन्टेस नदीको किनारको कर्करमा राजाहरूको एउटा गठबन्धनसँग युद्ध गरे। अहिले ब्रिटिश सङ्ग्रहालयमा रहेको कुर्ख एकाश्म-स्तम्भमा तिनको शिलालेखले 2,000 रथ र 10,000 सिपाहीसहित “इस्राएली आहाब” लाई सूचीमा राख्छ। शलमनेशेरले विजयको दाबी गरे, तर वर्षौँसम्म अघि बढेनन्।
बाइबलमा · लगभग 860 ई.पू. · कर्मेल डाँडा
कर्मेल डाँडामा एलिया
राजा आहाबको समयमा एलियाले भूमध्य सागरको किनारमाथिको कर्मेल डाँडामा बालका अगमवक्ताहरूलाई चुनौती दिन्छन्।
त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए। एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग। तर बाल परमेश्वर हो भने त्यसको पछि लाग।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन्। तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन्। तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन्। तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन्। त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ। तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु। जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ।” सबै मानिसले भने, “यो असल कुरो हो।” त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ। त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ।” तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस्।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो। तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे। मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ। त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला। त्यसैले उसलाई ब्युँझाइनुपर्छ।” त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे। मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो। तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन। तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ।” सबै मानिस तिनको नजिक आए। त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे। एलियाले बाह्रवटा ढुङ्गा लिए। प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो। यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ।” ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने। तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे। तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ।” त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे। फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे। पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो। साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस्। हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून्।” तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्यो, र खाडलको पानी पनि सुकाइदियो। जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!” त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र। एउटै पनि भाग्न नपाओस्।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे।त्यही समयमा संसारमा
कार्मेल पर्वतमा एलियाको प्रतिस्पर्धा इस्राएलका राजा आहाबको शासनकालमा (लगभग 874–853 ई.पू.) भएको हो। बाइबलबाहिरको कुनै लेखमा नाम लिइएका इस्राएलका पहिलो राजा आहाब नै हुन्: एउटा अश्शूरी शिलालेखले कर्करको युद्धमा तिनका रथहरूको सूची दिन्छ। यहाँ 9औँ शताब्दी ई.पू. को मध्यको संसार छ।
मोआबका राजा मेशाले दीबोनमा एउटा ढुङ्गा खडा गरे, जसले इस्राएलका राजा ओम्री र तिनका छोराले मोआबलाई कसरी थिचोमिचो गरे र तिनले यसलाई कसरी स्वतन्त्र पारे भनेर बताउँछ। 2 राजाहरू 3 ले मेशासँगको युद्धलाई इस्राएलको पक्षबाट बताउँछ। यो ढुङ्गा लुभ्रमा छ।
परम्पराअनुसार, राजकुमारी एलिस्सा, जो दिदोका नामले बढी चिनिन्छिन्, को नेतृत्वमा टुरोसबाट आएका बसोबासीहरूले 814 ई.पू. मा आजको ट्युनिसियामा कार्थेजको स्थापना गरे। आहाबकी रानी ईजेबेल पनि त्यही फोनिसियाली तटबाट आएकी थिइन्: तिनी सीदोनीहरूका राजा एताबालकी छोरी थिइन् (1 राजाहरू 16:31)।
एथेन्समा कुमालेहरूले फूलदानहरूमा घुमाउरा, टेढामेढा र गोलाकार बुट्टाका पट्टीहरू कोरे, र पछि शोक गर्नेहरू, घोडा र रथका साना आकृतिहरू। यस शैलीका ठुला फूलदानहरू चिहानमाथि चिनोका रूपमा उभिन्थे।
मिश्रमा तानिस र बुबास्तिसबाट लिबियाली वंशका राजाहरूले शासन गर्थे। ओसोर्कोन द्वितीयले बुबास्तिसको मन्दिरमा एउटा चाड-कक्ष बनाए; तिनको नाम भएको सिङ्गमरमरको घैँटोको एउटा टुक्रा सामरियाको शाही दरबारमा भेटियो, जहाँ आहाबले शासन गरे।
चोउ राजधानीका मानिसहरू कठोर राजा लीविरुद्ध उठे र तिनलाई धपाए। इतिहासकार सिमा च्यानले यसै वर्षबाट चिनियाँ इतिहासका वर्ष-वर्षका तालिकाहरू सुरु गर्छन्; यो चिनियाँ अभिलेखहरूमा पहिलो ठ्याक्कै मिति हो।
पेरुको एन्डिज पर्वतमा माथि, चाभिन दे वान्तारका मानिसहरूले भित्र अँध्यारा गलियारा भएको र बाहिरी भित्ताहरूमा भयानक प्राणीहरूका कुँदिएका टाउका भएको ढुङ्गाको मन्दिर बनाए; टाढा-टाढाबाट तीर्थयात्रीहरू त्यहाँ आउँथे।
स्रोतहरू: Theographic Bible Metadata, CC BY-SA 4.0 · OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार