15अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो।
16त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो।
17त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्ट भनिन्छ?”
18किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए।
19जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु।”
20तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए।
21ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा।”
22पिलातसले तिनीहरूलाई भने, “ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस्।”
23र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस्।”
24जब, पिलातसले आफूले केही गर्न नसक्ने देखे, बरु खैलाबैला मच्चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु। तिमीहरू आफैँ जान।”
25सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्।”
26अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए।