28त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे। बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून्।
29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?”
30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्पने थिएनौँ।”
31त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन।
32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो।
33त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”
35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्पेका छन्। तिमीले के गर्यौ?”
36येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन। यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस्। तर मेरो राज्य यस संसारको होइन।”
37तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्नुहुन्छ। म यही उद्देश्यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ। सत्यका सबैले मेरो आवाज सुन्छन्।”
38पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन।”