Bible Explorer एप लिनुहोस्

विश्वकोश › यसै बेला संसारमा

बाइबलमा · लगभग 1150 ई.पू. (परम्परागत मिति अझ पहिले) · मोरेको डाँडानजिकको यिजरेलको बेँसी

गिदोनका तीन सय

तुरही र गाग्रोभित्र लुकाइएका राँका बोकेका तीन सय मानिसमात्र लिएर गिदोनले यिजरेलको बेँसीमा मिद्यानीहरूको छाउनीलाई तितरबितर पार्छन्।

न्यायकर्ताहरू 7:1–22त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले। मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो। परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो।’ यसकारण अब मानिसहरूले सुन्‍ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस्।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे। परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मनिसहरू अझै पनि ज्‍यादै धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु। म तँलाई भन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ। तर म तँलाई बन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन।” यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर्।” तिन सय जना मानिसहरूले चाटेर पिए। अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए। परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु। अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे।” यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए। गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे। अब मिद्दानीका छाउनी तल बेसीमा थियो। त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु। तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा, र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए। मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए। तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए। जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो। त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो। त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो।” अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन। परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ।” जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्‍टो परेर दण्डवत् गरे। तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ।” ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए। तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर। हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू। जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’” यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए। मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए। तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए। तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके। तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार।” हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे। तिनीहरू ठुलो सोरमा कराए र भागे। जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो। सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे।

त्यही समयमा संसारमा

इतिहासकारहरूले प्रायः दबोरादेखि शिमशोनसम्मका न्यायकर्ताहरूलाई 12औँ र 11औँ शताब्दी ई.पू. मा राख्छन्; बाइबलकै अङ्कहरूबाट पछाडि गन्दा तिनीहरू अझ पहिले पर्छन्। यो पूर्वी भूमध्यसागरका काँसे युगका ठुला राज्यहरू ढलेपछिको समय थियो, जब पलिश्तीहरू कनानको तटमा बसे। यहाँ लगभग 1150 ई.पू. को संसार छ।

मिश्ररामसेस तेस्रो र समुद्री जातिहरूलगभग 1177 ई.पू.

मेदिनेत हाबुमा रहेको आफ्नो मन्दिरका भित्ताहरूमा रामसेस तेस्रोले “समुद्री जातिहरू” माथिको आफ्नो विजय देखाए, जसले स्थल र समुद्र दुवैबाट मिश्रमाथि आक्रमण गरेका थिए। तिनीहरूमध्ये पेलेसेत पनि थिए, जसलाई प्रायः पलिश्तीहरू मानिन्छ।

मेसोपोटामिया र निकट पूर्वहित्तीहरूको अन्त्यलगभग 1180 ई.पू.

मध्य अनातोलियामा हित्ती साम्राज्यको राजधानी हत्तुसा छोडियो र जलाइयो, र साम्राज्यको अन्त्य भयो। सिरियाको तटमा आफ्नै वर्णमाला भएको धनी व्यापारिक सहर उगारित पनि त्यसै वर्षहरूमा नष्ट भयो।

ग्रीस र रोममाइसिनीका दरबारहरू जल्छन्लगभग 1200–1100 ई.पू.

ग्रीसमा माइसिनी, पाइलोस र थेब्सका दरबारहरू नष्ट भए। पाइलोसमा आगोले सबैभन्दा पुरानो ग्रीक लेखन, लिनियर बी, मा लेखिएका सयौँ माटाका पाटीहरूलाई पकायो र यसरी तिनलाई जोगायो; त्यसपछि ग्रीकहरूले करिब चार शताब्दीसम्म लेख्न छाडे।

चीनसान्सिङदुईका काँसाका मूर्तिहरूलगभग 1200–1000 ई.पू.

सिचुवानको सान्सिङदुईमा, चिनियाँ लिखित अभिलेखहरूलाई अज्ञात एउटा जातिले बाहिर निस्केका आँखा भएका काँसाका मुकुण्डोहरू र आधारसहित करिब 2.6 मिटर अग्लो एउटा मूर्ति ढाले, र तिनलाई हात्तीदाँत र सुनसँगै खाडलहरूमा गाडे।

भारतकुरु राज्यलगभग 1200–900 ई.पू.

धेरै विद्वान्‌हरूको विचारमा, माथिल्लो गङ्गा मैदानमा कुरु वैदिक युगको पहिलो राज्य बन्यो। यसका पुरोहितहरूले वेदका सूक्तहरू र तिनका अनुष्ठानका नियमहरू सङ्कलन गर्न र मिलाउन थाले।

अन्यत्रप्रशान्त महासागरका नाविकहरूलगभग 1350–800 ई.पू.

न्यु गिनीनजिकका टापुहरूबाट, आफ्ना बारीकीसाथ छापिएका माटाका भाँडाहरूले चिनिने लापिता मानिसहरू आउटरिगर डुङ्गामा पूर्वतिर यात्रा गरे। लगभग 900–800 ई.पू. सम्ममा तिनीहरू फिजी, टोङ्गा र सामोआ पुगिसकेका थिए — ती टापुहरू, जहाँ पहिले कोही बसेको थिएन।

स्रोतहरू: Theographic Bible Metadata, CC BY-SA 4.0 · OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार

यसै बेला संसारमा

यस विषयमा थप

यसै बेला संसारमा