Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › यहूदाका राजाहरू

राजाहरू र इतिहास सँगसँगै · यहूदाका राजाहरू

अतल्‍याह र बालक योआश

२ राजाहरू 11:1–21 · २ इतिहास 22:10–12; 23:1–21

२ राजाहरू

२ राजाहरू 11:1–21

1अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन्।

2तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन्। तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन्। योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए।

3अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो।

4सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए। तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए।

5तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,

6र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ।”

7शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ।

8हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ। तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस्। राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ।

9त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे। हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए।

10तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए।

11मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले।

12तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए। तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे। तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून्!”

13जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन्।

14तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए। देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए। तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका।”

15तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख। तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार।”

16त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो।

17तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे।

18त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए। तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे। तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे।

19यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए। योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे।

20त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो।

21योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए।

२ इतिहास

२ इतिहास 22:10–12; 23:1–21

22:10अब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन्।

22:11तर राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्‍क भगाएर लगिन्। तिनले त्यसलाई र त्‍यसकी धाईआमालाई एउटा सुत्‍ने कोठाभित्र राखिन्‌। यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्‍नी यहोशेबाले (किनकि तिनी अहज्‍याहकी दिदी थिइन्) योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, ताकि अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌।

22:12अतल्‍याहले देशमा राज्‍य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए।

23:1सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे।

23:2तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्‍यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए।

23:3सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन्।

23:4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ।

23:5अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ। सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ।

23:6सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू। तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌। तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ।

23:7लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ। कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ। राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ।”

23:8यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे। हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन्‌।

23:9त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्‍याइदिए।

23:10यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे।

23:11तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए। तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे। त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून्।”

23:12जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌,

23:13र तिनले हेरिन् र हेर, राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए र कमाण्‍डरहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए। देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै र तुरही बजाउँदै थिए। अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए। तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”

23:14तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्‍याए र तिनीहरूलाई भने, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ। तिनको पछि लाग्‍ने कुनै पनि व्‍यक्ति तरवारले मारियोस्।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्‍दिरमा नमार।”

23:15यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे।

23:16त्‍यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे।

23:17यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्यसलाई भत्‍काए। बालका वेदीहरू र त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे।

23:18यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए। आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए।

23:19अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए।

23:20यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए। तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए। मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले।

23:21यसरी देशका सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो। अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार