Bible Explorer एप लिनुहोस्

बाइबल › २ इतिहास › 22

ULB · अध्याय 22 / 36

२ इतिहास 22

1यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए। यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए।

2अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी ओम्रीकी छोरी थिइन्‌।

3तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन्।

4आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए।

5तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे। तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए। अरामीहरूले योरामलाई घाइते बनाए।

6रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए। यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए।

7अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो। जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो।

8यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए। येहूले तिनीहरूलाई मारे।

9येहूले अहज्‍याहलाई खोजे। तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे। त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन।

10अब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन्।

11तर राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्‍क भगाएर लगिन्। तिनले त्यसलाई र त्‍यसकी धाईआमालाई एउटा सुत्‍ने कोठाभित्र राखिन्‌। यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्‍नी यहोशेबाले (किनकि तिनी अहज्‍याहकी दिदी थिइन्) योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, ताकि अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌।

12अतल्‍याहले देशमा राज्‍य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org