1त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो।
2उहाँले भन्नुभयो, “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्।”
3यसकारण, तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन्, ती कुरा गर र तिनीहरूलाई पालन गर। तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिँ गर्दछन्, तर पछि आफैँले ती गर्दैनन्।
4हो, तिनीहरूले बोक्न कठिन हुने गह्रौँ भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन्। तर तिनीहरू आफैँले भने ती बोक्नलाई एउटा औँला पनि चलाउँदैनन्।
5तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन्। किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्त्रका झुम्काहरू लामो पार्दछन्।
6तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
7अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन्।
8तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ।
9अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ।
10न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ।
11तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ।
12जसले आफूलाई उच्च पार्दछ, त्यसलाई होच्याइनेछ। अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्च पारिनेछ।