57जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए।
58तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे। उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे।
59अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए।
60थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन्। तर पछि दुई जना अगि आए,
61र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’।”
62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”
63तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हौ?”
64येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्नुभएको छ। तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्तिमान्को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्नुहुनेछ।”
65त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्वर-निन्दा गरेको छ। अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्वर-निन्दा सुन्नुभएको छ।
66तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ।”
67त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
68र भने, “हे ख्रीष्ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”