47जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए। मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो। तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए।
48अब जुन व्यक्तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन्। उनलाई नै पक्रनू।”
49तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्यो।
50येशूले उसलाई भन्नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे।
51हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्यो, अनि उसको कान काटिदियो।
52त्यसपछि येशूले उसलाई भन्नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्ट पारिनेछन्।
53के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्न र?
54तर यस्तो हुनुपर्छ भनी धर्मशास्त्रले भनेको कसरी पुरा हुने थियो त?”
55त्यति बेला येशूले भिडलाई भन्नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ।
56तर यी सबै कुरा भए, ताकि अगमवक्ताहरूले लेखेका कुरा पुरा हुन सकून्।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे।