Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › सुसमाचारहरू सँगसँगै › येशूको दुःखभोग

सुसमाचारहरू सँगसँगै · येशूको दुःखभोग

गेतसमनी

मत्ती 26:36–46 · मर्कूस 14:32–42 · लुका 22:39–46

मत्ती

मत्ती 26:36–46

36त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस।”

37उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो।

38त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ। यहीँ बस र मसँगै जागा रहो।”

39उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो। उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस्। तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस्।”

40उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ?

41जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर। आत्मा त तयार छ, तर शरीर भने कमजोर छ।”

42उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस्।”

43उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए।

44त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो। उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्‍याउनुभयो।

45त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ।

46उठ, अब हामी जाऔँ। हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ।”

मर्कूस

मर्कूस 14:32–42

32उहाँहरू गेतसमनी भन्‍ने ठाउँमा आइपुग्‍नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस।”

33उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो।

34उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ। यहाँ बस र जागा रहो।”

35येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस्।

36उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ। यो कचौरा मबाट हटाउनुहोस्। तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस्।”

37उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ? के एक घण्टा पनि जागा रहन सकेनौ?

38जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर। वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ।”

39उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो।

40फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन्।

41उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो! समय आएको छ। हेर! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ।

42उठ र जाऔँ। हेर, मलाई धोखा दिने नजिकै छ।”

लुका

लुका 22:39–46

39भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए।

40जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर।”

41उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,

42“हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस्। तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस्।”

43तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए।

44पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए।

45जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो।

46र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस्।”

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार