18:13तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे।
18:14त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, “मैले तपाईंलाई चोट पुर्याएको छु। मबाट पछि हट्नुहोस्। तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्नेछु।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी र एक टन सुन माग गरे।
18:15त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए।
18:16त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले। तिनले उक्त सुन अश्शूरका राजालाई दिए।
18:17तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए। तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे। तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्यहाँ रोकिए।
18:18जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए।
18:19त्यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो?
18:20युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्यर्थका कुरा मात्र बोल्छौ। तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्यो?
18:21हेर, मिश्रदेशको यो चिरा परेको निगालोको टेक्ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्छ र त्यसलाई छेडिदिन्छ। आफूमाथि भरोसा गर्ने हरेकको निम्ति मिश्रदेशका राजा फारो त्यस्तै हो।
18:22तर तिमी मलाई भन्छौ, 'हामी परमप्रभु हाम्रा परमेश्वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ'?
18:23त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्न चाहन्छु। तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु।
18:24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्तानको पनि तपाईं कसरी विरोध गर्न सक्नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ।
18:25के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र? परमप्रभुले मलाई भन्नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर।”
18:26तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्यो बुझ्छौँ। कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस्।”
18:27तर प्रधान सेनापतिले तिनीहरूलाई भने, “के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्नलाई मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ?”
18:28तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन।
18:29राजा भन्नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्ने छैनन्।
18:30हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन।'
18:31हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ, 'मसित सम्झौता गर र मकहाँ आओ। तब तिमीहरू हरेकले आफ्नै दाखबारी र भद्राक्षाको बोटबाट खान पाउने छ, र आफ्नै कुवाको पानी पिउन पाउनेछ।
18:32अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन।
18:33के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र?
18:34हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन्?
18:35देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्नो देशलाई छुटकारा दिएको छ र? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र?”
18:36तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, “तिनलाई जवाफ नदिनू।”
18:37तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए।
19:1जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए।
19:2तिनले राजदरबारका निरिक्षक एल्याकीम, सचिव शेब्ना र पुजारीहरूका धर्म-गुरुहरू सबैलाई भाङ्ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए।
19:3तिनीहरूले तिनलाई भने, “हिजकिया भन्नुहुन्छ, 'जसरी बच्चा जन्मन लाग्छ तर तिनीहरूमा जन्मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्ट, हप्की र अनादरको दिन भएको छ।
19:4सायद परमप्रभु तपाईंका परमेश्वरले प्रधान सेनापतिका सबै कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्वरलाई विरोध गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ। अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस्।”
19:5त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,
19:6र यशैयाले तिनीहरूलाई भने, “आफ्ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा।
19:7हेर्, म त्यसमा एउटा आत्मा हालिदिनेछु, र त्यसले एउटा खबर सुन्नेछ र आफ्नै देशमा फर्केर जानेछ। त्यसको आफ्नै देशमा म त्यसलाई तरवारले ढाल्न लगाउनेछु'।”
19:8तब प्रधान सेनापति फर्के, र अश्शूरका राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए।
19:9त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,
19:10“यहूदाका राजा हिजकियालाई भन्नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्ने तिमीले भरोसा गरेका परमेश्वरले तिमीलाई धोका नदेऊन्।
19:11हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्ट पारेका कुरा तिमीले सुनेका छौ। त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?
19:12मेरा पुर्खाहरूले नष्ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन्?
19:13हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन्?”
19:14हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्त गरे, र तिनले यो पढे। तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए।
19:15तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्टि गर्नुभयो।
19:16हे परमप्रभु, आफ्नो कान थाप्नुहोस् र सुन्नुहोस्। हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्नुहोस् जुन त्यसले जीवित परमेश्वरको गिल्ला गर्न पठाएको छ।
19:17हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्चै नै नाश पारेका छन्।
19:18तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्गाहरू थिए। त्यसैले अश्शूरीहरूले तिनलाई नष्ट पारे।
19:19अब हे परमप्रभु हाम्रा परमेश्वर, म बिन्ती गर्छु, कि त्यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ भनी जान्न सकून्।”
19:20तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्नेछु।
19:21त्यसको विषयमा परमप्रभुले भन्नुभएको वचन यही होः “सियोनकी कन्या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे। यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे।
19:22तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस्? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस्? इस्राएलका परमपवित्रको विरुद्धमा हो!
19:23तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्च टाकुराहरूमा उक्लेको छु। म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्नेछु। म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु।
19:24मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु। मैले आफ्ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ।'
19:25के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु। तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्नावशेषको थुप्रोमा समेटेको छस्।
19:26तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन्। तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन्।
19:27तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ।
19:28तैँले मेरो विरुद्धमा रिस देखाएको हुनाले र तेरो घमण्ड मेरो कानसम्म पुगेको हुनाले म तेरो नाकमा मेरो बल्छी लगाउनेछु, र तेरो मुखमा मेरो लगाम लगाउनेछु। म तँलाई तँ आएकै बाटो फर्काउनेछु।”
19:29तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस्। तर तेस्रो वर्षमा चाहिँ तैँले अन्न रोप्ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस्।
19:30यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्नेछन् र फल फलाउनेछन्।
19:31किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन्। सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ।
19:32त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्नेछ। न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ।
19:33जुन बाटोबाट ऊ आएको थियो ऊ त्यही बाटो फर्केर जानेछ। ऊ यस सहरमा पस्नेछैन— यो परमप्रभुको घोषणा हो।
19:34किनकि मेरो आफ्नै निम्ति र मेरा दास दाऊदको निम्ति म यस सहरको रक्षा गर्नेछु र यसलाई बचाउनेछु।”
19:35त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे। जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए।
19:36त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल चोडे र घरमा गए, र निनवेमा बसे।
19:37पछि तिनले आफ्नो देवता निस्रोकको मन्दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे। अनि तिनीहरू आरारात देशमा भागेर गए। तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए।