1जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
2र यसो भन्नुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ। तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ।
3यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन्।”
4अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो। उहाँले भन्नुभयो,
5“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ।’”
6तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे।
7तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्नुभयो।
8भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए।
9येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना!”
10जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”
11भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्ता।”