1जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो।
2एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो।
3फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”
4येशूले उत्तर दिनुभयो र भन्नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्त्री गरी बनाउनुभयो?”
5अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन्।’
6यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्। त्यसैकारण जे परमेश्वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्ट्याओस्।”
7तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्ने आज्ञा किन दिए त?”
8उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्नीहरू त्याग्न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन।
9म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ। र जुन मानिसले त्यस त्यागिएकी स्त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ।”
10चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो।”
11तर येशूले तिनीहरूलाई भन्नुभयो, “सबै व्यक्तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ।
12किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे। र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए। र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए। जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ, उसले ग्रहण गरोस्।”