Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › सुसमाचारहरू सँगसँगै › येशूको दुःखभोग

सुसमाचारहरू सँगसँगै · येशूको दुःखभोग

क्रूसमा टाँगिनु

मत्ती 27:32–44 · मर्कूस 15:21–32 · लुका 23:26–43 · यूहन्ना 19:17–27

मत्ती

मत्ती 27:32–44

32जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस्।

33तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो।

34तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए। तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन।

35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए।

36अनि तिनीहरू बसे र उहाँलाई हेरे।

37उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा।”

38दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि।”

39जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,

40“तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल!”

41यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,

42“उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन। ऊ इस्राएलको राजा हो। ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ।

43उसले परमेश्‍वरमा विश्‍वास गर्छ। र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ।’”

44र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे।

मर्कूस

मर्कूस 15:21–32

21तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए।

22सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए (जसको अर्थ हुन्छः “खप्परको ठाउँ”)।

23तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन।

24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए।

25तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो।

26तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा।”

27तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।

28अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो।

29त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,

30आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!”

31त्यसै गरी, मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन।

32इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे।

लुका

लुका 23:26–43

26तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए।

27मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए।

28तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ।

29किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन्।’

30त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप।’

31यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”

32उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो।

33जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे।

34येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन्।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले।

35मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस्।”

36अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,

37“यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ।”

38“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो।

39क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ।”

40तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस्?

41हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ। तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन्।”

42र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस्।”

43येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ।”

यूहन्ना

यूहन्ना 19:17–27

17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ।

18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे।

19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे। त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा।

20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो। यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो।

21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस्।”

22पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ।”

23सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए। हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि। अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो।

24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले।”

25सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए।

26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!”

27तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार