Bible Explorer एप लिनुहोस्

बाइबल › हितोपदेश › 15

ULB · अध्याय 15 / 31

हितोपदेश 15

1विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ।

2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ।

3परमप्रभुको दृष्‍टि जताततै छ। उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ।

4निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ।

5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो।

6धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ।

7बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन।

8परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो।

9परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्‍नेलाई उहाँले प्रेम गर्नुहुन्छ।

10कठोर अनुशासनले आफ्नो बाटो त्याग्‍नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ।

11पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला?

12गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ। त्यो बुद्धिमान्‌कहाँ जाँदैन।

13आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ।

14विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ।

15थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन।

16भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो।

17घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो।

18रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ।

19अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो।

20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ।

21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ।

22सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन्।

23उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ। ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!

24जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ। यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ।

25परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ।

26परमप्रभुले दुष्‍ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन्।

27चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ।

28जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ।

29दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ।

30आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो।

31कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ।

32अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ।

33परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org