Bible Explorer एप लिनुहोस्

बाइबल › हितोपदेश › 2

ULB · अध्याय 2 / 31

हितोपदेश 2

1हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने,

2बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,

3तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने,

4तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने,

5तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस्।

6किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन्।

7उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्‍का बुद्धि साँचेर राख्‍नुभएको छ। निष्‍ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ।

8उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ।

9तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस्।

10किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ।

11विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ।

12तिनीहरूले तँलाई दुष्‍ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन्।

13त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन्।

14तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्‍टका बदमासीहरूमा आनन्द मनाउँछन्।

15तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन्।

16बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ।

17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे।

18किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन्।

19त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन्।

20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग।

21किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्‍ठावान्‌हरू यसमा रहने छन्।

22तर दुष्‍टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्‍वासहीनहरू यसबाट मिल्काइने छन्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org