Bible Explorer एप लिनुहोस्

बाइबल › हितोपदेश › 1

ULB · अध्याय 1 / 31

हितोपदेश 1

1दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः

2यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,

3ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्‍त गर्न सक।

4यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो।

5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

6जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्‍टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून्।

7परमप्रभुको भय नै ज्ञानको सुरु हो। मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ।

8हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा।

9ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन्।

10हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग्।

11तिनीहरूले भन्लान्, “हामीसित आऊ। उक्तपातको लागि ढुकिबसौँ। विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ।

12स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्‍नेहरूलाई झैँ गरौँ।

13हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ। तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ।

14तिमी हामीसित साझेदार होऊ। हामी सबैको एउटै थैलो हुने छ।”

15हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल। तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे।

16तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन्।

17किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ।

18यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन्। तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन्।

19अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन्। अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ।

20बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ।

21होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,

22“हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ?

23मेरो सुधारलाई ध्यान देओ। म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु। म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु।

24मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ। मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन।

25तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ।

26तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु-

27जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन्।

28तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ। तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन्।

29तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले,

30तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने।

31तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन्।

32किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन्।

33तर मेरो कुरा सुन्‍ने सुरक्षामा जिउने छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्‍कसित बस्‍ने छ।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org