Bible Explorer एप लिनुहोस्

बाइबल › हितोपदेश › 24

ULB · अध्याय 24 / 31

हितोपदेश 24

1खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख्।

2किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ।

3बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ।

4ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन्।

5बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ।

6किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ।

7मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ। ढोकामा त्यसले आफ्नो मुख खोल्दैन।

8खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन्।

9मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन्।

10कष्‍टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ।

11मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा।

12“हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र?

13हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ।

14तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन।

15धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस्। त्यसको घर नभत्का।

16किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन्।

17तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्‍कर खाँदा तेरो हृदयलाई प्रसन्‍न हुन नदे।

18नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ।

19खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर्।

20किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ।

21हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा। तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर्।

22किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र?

23यी पनि बुद्धिमान्‌का नीति-वचनहरू हुन्। मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन।

24दुष्‍ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ।

25तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन्।

26इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ।

27तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख्। त्यसपछि तेरो घर बना।

28विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर्।

29यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु। त्यसले मलाई गरेको साटो म लिने छु।”

30म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ।

31जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो।

32तब मैले देखेका कुरामा मैले विचार गरेँ। मैले हेरेँ र अर्ती प्राप्‍त गरेँ।

33क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले

34गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org