ULB · अध्याय 19 / 27
लेवीहरू 19
1परमप्रभुले मोशालाई भन्नुभयो,
2“इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ।
3हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
4मूल्यहीन मूर्तिहरूलाई नपछ्याओ, न त आफ्नै निम्ति धातुका ईश्वरहरू बनाओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
5तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर।
6तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस्। तेस्रो दिनसम्म केही बाँकी रह्यो भने, त्यो आगोद्वारा जलाइयोस्।
7यदि त्यो तेस्रो दिनमा खाइयो भने, त्यो मासु अशुद्ध हो; त्यसलाई ग्रहण गरिनुहुँदैन,
8र त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने छ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्यो त्यसले अशुद्ध गरेको छ, र त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।
9तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्नू।
10आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्नू। तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
11चोरी नगर्नू। झुटो नबोल्नू। एक-अर्कालाई धोका नदिनू।
12मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्वरको नाउँलाई अशुद्ध नतुल्याउनू। म परमप्रभु हुँ।
13आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्नू। ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस्।
14बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्ने कुरो नराख्नू। बरु, तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू। म परमप्रभु हुँ।
15झुटो न्याय नगर्नू। कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू। बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू।
16आफ्ना मानिसहरूका बिचमा निन्दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू। म परमप्रभु हुँ।
17आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्नू। आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्काउनू।
18बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू। म परमप्रभु हुँ।
19तिमीहरूले मेरा आज्ञाहरू मान्नू। आफ्ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ। आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर। दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ।
20मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्त्रीसँग सुत्नेलाई दण्ड दिइयोस्। तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्त थिई।
21त्यस मानिसले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ एउटा भेडा दोषबलिको रूपमा ल्याओस्।
22त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्चित्त गर्ने छ। अनि त्यसले गरेको पाप क्षमा हुने छ।
23तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्नू। ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने छ। त्यो नखानू।
24तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने छ।
25पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्छौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
26कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू। भविष्यबारे जान्न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू।
27तिमीहरूका कन्चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू।
28मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू। म परमप्रभु हुँ।
29आफ्नी छोरीलाई वेश्या बनाएर त्यसको अपमान नगर्नू, नत्रता सारा देश वेश्यागमनतिर लाग्ला र देश दुष्टताले भरिने छ।
30तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्र स्थानको आदर गर्नू। म परमप्रभु हुँ।
31मरेकाहरू वा आत्माहरूसँग बोल्नेहरूलाई नपछ्याओ। तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
32फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर। तिमीहरूका परमेश्वरको भय मान। म परमप्रभु हुँ।
33तिमीहरूका देशमा कुनै परदेशी बस्दछ भने, त्यसलाई कुनै हानि नगर्नू।
34तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
35लम्बाइ, तौल र सङ्ख्या नाप्दा छल नगर्नू।
36तिमीहरूले ठिक-ठिक तराजु र ढक, र ठिक-ठिक नाप र तौलहरू प्रयोग गर्नू। तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
37तिमीहरूले मेरा सबै आज्ञाहरू र मेरा सबै विधिविधानहरू मान्नू र तीअनुसार चल्नू। म परमप्रभु हुँ’।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org