Bible Explorer एप लिनुहोस्

बाइबल › लेवीहरू › 1

ULB · अध्याय 1 / 27

लेवीहरू 1

1परमप्रभुले मोशालाई भेट हुने पालबाट बोलाएर यसो भन्‍नुभयो,

2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू।

3यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस्। परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस्।

4त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ।

5त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस्। हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून्।

6तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस्।

7अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून्।

8हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून्।

9तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस्। त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन्। त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ।

10यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस्।

11त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस्। हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून्।

12त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,

13तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस्। त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस्। यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो।

14यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस्।

15पुजारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस्। त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस्।

16त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्‍टि खरानी राखिने ठाउँमा फ्याँकोस्।

17त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस्। त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस्। यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org