ULB · अध्याय 22 / 27
लेवीहरू 22
1परमप्रभुले मोशालाई भन्नुभयो,
2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून्। तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन्। म परमप्रभु हुँ।
3तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्कृत होस्। म परमप्रभु हुँ।
4हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन। मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
5वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
6र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ। त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस्।
7घाम अस्ताएपछि त्यो शुद्ध हुने छ। घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो।
8मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस्। त्यसबाट त्यो अशुद्ध हुन्छ। म परमप्रभु हुँ।
9पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन्। तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ।
10पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन्।
11तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ। पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्ने छन्।
12यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस्।
13तर पुजारीकी छोरी विधवा, वा विच्छेद भएकी स्त्री हो, र त्यसको बालबच्चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे। तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस्।
14यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस्।
15डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,
16नत्रता तिनीहरूले पाप बोक्ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’।”
17परमप्रभुले मोशालाई भन्नुभयो,
18“हारून र त्यसका छोराहरू, र इस्राएलका सारा मानिसहरूलाई यसो भन्, ‘कुनै इस्राएली, वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस्, वा त्यो स्वेच्छा भेटी होस्, वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा,
19तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ।
20तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू। म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ।
21कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्खोट होस्, अनि त्यो स्वीकारिने छ। त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन।
22अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू। तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू।
23अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन।
24चोट लागेका, कुच्च्याइएका, चिरिएका, वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू। तिमीहरूको देशैभरि त्यस्तो नगर्नू।
25परदेशीको हातबाट तिमीहरूका परमेश्वरको भोजन अर्पण नगर्नू। अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’।”
26परमप्रभुले मोशालाई भन्नुभयो,
27“बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस्। आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ।
28गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्चासमेत नमार्नू।
29तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्य तरिकामा बलि गर्नू।
30त्यसलाई त्यो बलि गरिएकै दिनमा खानू। अर्को बिहानीसम्म त्यसको केही भाग पनि नछोड्नू। म परमप्रभु हुँ।
31यसैकारण तिमीहरूले मेरा आज्ञा मान्नू र तीअनुसार हिँड्नू। म परमप्रभु हुँ।
32तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू। इस्राएलका मानिसहरूले म पवित्र छु भन्ने कुरा स्वीकारून्। तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ,
33र मैले नै तिमीहरूका परमेश्वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ। म परमप्रभु हुँ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org