Bible Explorer एप लिनुहोस्

बाइबल › लेवीहरू › 2

ULB · अध्याय 2 / 27

लेवीहरू 2

1कसैले परमप्रभुको निम्ति अन्‍नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस्।

2त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस्। त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस्। त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ।

3अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ। परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ।

4चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस्।

5यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस्।

6त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू। यो अन्‍नबलि हो।

7यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू।

8यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस्।

9त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस्। यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ।

10अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ। आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ।

11तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू।

12तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन्।

13तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू। आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू। आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू।

14परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू।

15त्यसपछि त्यसमा तेल र धूप राख्‍नू। यो अन्‍नबलि हो।

16त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस्। यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org