Bible Explorer एप लिनुहोस्

बाइबल › लेवीहरू › 11

ULB · अध्याय 11 / 27

लेवीहरू 11

1परमप्रभु मोशा र हारूनसँग यसरी बोल्‍नुभयो,

2“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन्।

3चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ।

4तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन। यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो।

5अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो।

6अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन।

7अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन। यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो।

8तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू। यी तिमीहरूका निम्ति अशुद्ध हुन्।

9पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ।

10तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू।

11ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू।

12पानीमा पाइने प्राणी जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस्।

13तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध,

14चील, सबै प्रकारका बेसारो,

15सबै प्रकारका काग,

16सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज।

17तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग,

18राजहंस र धनेस, माछा खाने चील,

19सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो।

20चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन्।

21तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ।

22तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ।

23तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस्।

24यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ।

25जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ।

26हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ। ती छुने सबै अशुद्ध हुने छन्।

27चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन्। त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ।

28त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस्। यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्।

29जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो,

30गोहोरो, सालक, भालेमुङ्‍रो, बालुवाको छेपारो, र रङ्ग बदल्‍ने छेपारो।

31घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन्। ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन्।

32तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ। त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ। त्यसपछि त्यो शुद्ध हुने छ।

33यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू।

34कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ। त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ।

35जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ। ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून्।

36जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन्।

37यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन्।

38तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन्।

39तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ।

40त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ। त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ।

41जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ। ती नखानू।

42आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ।

43कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू।

44किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ। जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ।

45किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ। यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ।

46सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,

47जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org