Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 सेप्टेम्बर › सेप्टेम्बर 26

अर्थोडक्स पात्रो · सेप्टेम्बर 13 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 सेप्टेम्बर 26

आइतबार · स्वर 5

पर्व र सन्तहरू

पेन्तिकोसपछिको 14औँ आइतबार

उत्कर्ष-पर्वअघिको आइतबार

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ

१ राजाहरू 8:22–23, 27–30

22सोलोमन परमप्रभुको वेदी र इस्राएलका सारा समुदायको सामुन्ने खडा भए, र स्वर्गतिर आफ्ना हात फैलाए। 23तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ। 27तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त! 28तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस्। आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस्। 29रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस्। 30त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस्। हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस्। तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस्।

साँझको प्रार्थना: पाठ

हितोपदेश 3:19–34

19बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो। 20उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे। 21हे मेरो छोरो, पक्‍का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे। 22ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन्। 23तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन। 24तँ पल्टँदा डराउने छैनस्। तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ। 25दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा। 26किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ। 27तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक्। 28तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु।” 29तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना। 30तँलाई कसैले हानि नपुर्‍याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर्। 31हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान्। 32किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्छ। 33दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ। 34उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ।

साँझको प्रार्थना: पाठ

हितोपदेश 9:1–11

1बुद्धिले आफ्नै घर बनाएको छ। त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ। 2त्यसले आफ्ना पशुहरू मारेको छ। त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ। 3त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ। त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ। 4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस्।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ। 5“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ। 6आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच। समझशक्तिको मार्गमा हिँड। 7गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ। 8गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ। 9बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ। धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ। 10परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। 11किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ।

बिहानको प्रार्थनाको तेस्रो सुसमाचार

मर्कूस 16:9–20

9हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो। 10उनी गइन् र उनीसँग भएका सबैलाई बताइन्। त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए। 11तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्‍वास गरेनन्। 12त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो। 13तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन्। 14पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन्। 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर। 16जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ। 17जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन्। तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्। 18तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन। तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन्। 19प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो। 20चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो।

पत्र (क्रुसको उत्कर्षअघिको आइतबारको निम्ति)

गलाती 6:11–18

11हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु। 12शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन्। 13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन्। बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्। 14हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस्। उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ। 15किनकि न त खतना न बेखतना कुनै मूल्यको हो। बरु, नयाँ सृष्‍टि महत्त्‍वपूर्ण छ। 16यही नियमअनुसार जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा शान्ति र कृपा रहोस्। 17अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु। 18भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस्। आमेन।

पत्र

२ कोरिन्थी 1:21–2:4

21अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो। 22उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो। 23बरु, मैले परमेश्‍वरलाई मेरो गवाहीको लागि पुकारेँ। त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ। 24तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्‍त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन। बरु, हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्‍वासमा अटल रहन्छौ। 2:1तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ। 2यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र? 3मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ। मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु। 4किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ। म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ। बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ।

पत्र (पवित्र चिहानको गिर्जाघरको प्रतिष्ठाको निम्ति)

हिब्रू 3:1–4

1त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर। 2जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्‍वरप्रति विश्‍वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको घरानामा विश्‍वासयोग्य थिए। 3परमेश्‍वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो। किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ। 4हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ।

सुसमाचार (क्रुसको उत्कर्षअघिको आइतबारको निम्ति)

यूहन्ना 3:13–17

13स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। 14जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ, 15ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन्। 16किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस्। 17किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो।

सुसमाचार

मत्ती 22:1–14

1तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो, 2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे। 3उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन्। 4फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु। मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन्। विवाहको भोजमा आओ।’ 5तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो। 6अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे। 7तर राजा रिसाए। उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए। 8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन्। 9त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ।’ 10ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे। त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो। 11तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे। 12राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन। 13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ।’ 14किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन्।”

सुसमाचार (पवित्र चिहानको गिर्जाघरको प्रतिष्ठाको निम्ति)

मत्ती 16:13–18

13जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?” 14उनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्दछन्।” 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?” 16सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ।” 17येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। 18म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु। नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको सेप्टेम्बर 13 नागरिक पात्रोमा सेप्टेम्बर 26 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार