ULB · अध्याय 16 / 16
मर्कूस 16
1जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून्।
2हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए।
3तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”
4जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो।
5उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे।
6तिनले तिनीहरूलाई भने, “नडराओ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न। तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर।
7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ। उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ।
8तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे। तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए।
9हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो।
10उनी गइन् र उनीसँग भएका सबैलाई बताइन्। त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए।
11तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्वास गरेनन्।
12त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो।
13तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन्।
14पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन्।
15उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर।
16जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ।
17जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन्। तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्।
18तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन। तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
19प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।
20चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्चर्य चिन्हहरूले वचनलाई पुष्टि गर्नुभयो।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org