गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अप्रिल › अप्रिल 29
अर्थोडक्स पात्रो · अप्रिल 16 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 अप्रिल 29
बिहीबार · पवित्र हप्ता
पर्व र सन्तहरू
महान् र पवित्र बिहीबार
महान् उपवास
उपवास: तेलसहित
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
सुसमाचार (दुलहाको बिहानको प्रार्थना)
1अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्छ। 2मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए। 3बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो। 4येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्तानहरूसँगै गयो। 5तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए। 6ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो। 7अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो। 8येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ।” 9तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?” 10उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ। ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ। 11तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?’ 12उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन्। त्यहीँ तयारी गर।” 13त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए। तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे। 14जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्नुभयो। 15तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले कष्ट भोग्नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु। 16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ।” 17तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड। 18किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ।” 19तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ। मेरो सम्झनामा यो गर्ने गर।” 20भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ। 21तर ध्यान देओ। मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ। 22किनभने मानिसका पुत्र त निश्चय गरेअनुसार जानुपर्छ। तर त्यो मानिसलाई धिक्कार होस् जसद्वारा उनलाई विश्वासघात गरिन्छ।” 23र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्न गर्न लागे। 24तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्नेबारे तिनीहरूबिच झगडा उब्जियो। 25उहाँले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ। 26तर तिमीहरूमा यस्तो हुनुहुँदैन। बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस्। र जो सबैभन्दा महत्त्वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस्। 27किनभने टेबलमा खान बस्ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो? टेबलमा खान बस्ने होइन र? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु। 28तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ। 29जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु। 30मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्नेछौ। र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ। 31सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्न पाओस्। 32तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्वास नचुकोस्। तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ। 33पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु।” 34येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्नेछैन।” 35तब येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन।” 36तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्न देऊ र खानेकुरा बोक्ने झोला पनि। जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस्। 37किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्टलाई जस्तै व्यवहार गरिनेछ। किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ।” 38तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन्।” र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो पर्याप्त छ।” 39भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए।
पहिलो घडी
यर्मिया 11:18–12:5, 9–11, 14–15
18परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्यसैले म यी जान्दछु। हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो। 19म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ। तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्यसको फलसमेत नष्ट पारौं। फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं।” 20तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ। तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु। 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस्।' 22त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु। तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन्। तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन्। 23तिनीहरूमध्ये कोही पनि छाडिनेछैन, किनकि म अनातोतका मानिसहरूको विरुद्धमा विपत्ति ल्याउँदैछु, जुन तिनीहरूको दण्डको वर्ष हुनेछ'।” 12:1हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ। मैले गुनासो गर्नुपर्ने कारण निश्चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्टका मार्गहरू सफल हुन्छन्? सबै विश्वासहीन मानिस सफल छन्। 2तपाईंले तिनीहरूलाई रोप्नुभयो, र तिनीहरूले जरा हाले। तिनीहरूले निरन्तर फल फलाउँछन्। तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ। 3तापनि हे परमप्रभु, तपाईंले मलाई जान्नुहुन्छ। तपाईंले मलाई देख्नुहुन्छ, र तपाईंप्रतिको मेरो हृदयलाई जाँच गर्नहुन्छ। मारिनलाई लगिने भेडाजस्तै तिनीहरूलाई लैजानुहोस्, र मारिने दिनको लागि तिनीहरूलाई अलग गर्नुहोस्। 4देश कहिलेसम्म सुक्खा भइरहन्छ, यसका बासिन्दाहरूको दुष्टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन्। वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्वरले देख्नुहुन्न।” 5परमप्रभुले भन्नुभयो, “वास्तवमा, तँ यर्मिया पैदल हिंड्ने सिपाहीहरूसित दगुरेको भए, र तिनीहरूले तँलाई थकाएका भए, तैंले कसरी घोडाहरूको विरुद्धमा प्रतिस्पर्धा गर्न सक्छन्? तँ सुरक्षित पाखामा खसेको छस् भने, यर्दननेरका झाडीहरूमा तैंले के गर्नेछस्? 9के मैले मूल्य तिरेको उत्तराधिकार छिरबिरे सिकारी चराजस्तै बनेको छैन, जसका विरुद्धमा अरू सिकारी चराहरू आइलाग्छन्? जा र सबै जङ्गली जनावरहरूलाई जम्मा गर्, र त्यसलाई निल्न तिनीहरूलाई लिएर आइज। 10धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्ट पारेका छन्। तिनीहरूले मेरो खेतको भागलाई कुल्चेका छन्। मेरो खुशीको भागलाई उजाड-स्थान, तिनीहरूले निर्जन मरुभूमिमा परिणत गरेका छन्। 11तिनीहरूले त्यसलाई उजाड पारेका छन्। म त्यसको निम्ति शोक गर्छु। त्यो उजाड छ। सारा देश उजाड पारिएको छ, किनकि यसलाई हृदयमा लिने कोही छैन। 14मैले आफ्ना मानिस इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्नुहुन्छ, “हेर, तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो र यहूदाको घरानालाई म तिनीहरूका बिचबाट माथि तान्नेछु। 15त्यसपछि म ती जातिहरूलाई जरैदेखि उखेलेपछि म तिनीहरूलाई दया देखाउनेछु, र तिनीहरूलाई फर्काएर ल्याउनेछु। म हरेक मानिसलाई त्यसको आफ्नै उत्तराधिकार र देशमा फर्काएर ल्याउनेछु।
साँझको प्रार्थना: पाठ
10परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ जा। आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा। 11तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ। 12तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू। तिनीहरूलाई भन्नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ। जसले पर्वतलाई छुन्छ त्यो निश्चय नै मारिनेछ।' 13यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन। बरु, उसलाई निश्चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ। चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ। जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ।” 14तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए। तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए। 15तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ। सहवास नगर।” 16तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्यो र तुरहीको ठुलो आवाज आयो। छाउनीमा भएका सबै मानिस थरथर काँपे। 17परमेश्वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए। 18सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो। भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो। 19जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्ने गरी जवाफ दिनुभयो।
साँझको प्रार्थना: पाठ
1तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्नुभयो, 2“ज्ञानविनाका शब्दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो? 3अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले जवाफ दिनुपर्छ। 4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन्। 5यसको नाप कसले निधो गर्यो? तँलाई थाहा भए मलाई भन्। यसमाथि कसले नाप्ने धागो टाँग्यो? 6के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो? 7कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्वरका सबै छोराहरूले आनन्दले चिच्च्याए। 8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्यसका ढोकाहरू बन्द गर्यो? 9कति बेला मैले त्यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ? 10त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ, 11अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन। तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्छु।' 12के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्यसको ठाउँ चिनाएको छस्, 13जसको कारणले त्यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्? 14छाप मुनिको माटोको आकार बदलिएझैं स्वरूपमा पृथ्वी बद्लिन्छ। एउटा लुगा कच्चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन्। 15दुष्टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ। तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ। 16के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्? 17के मृत्युका ढोकाहरू तँलाई देखाइएको छ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस्? 18के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन्। 19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ? 20ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्न सक्छस्? 21त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्छ। तेरो उमेर धेरै भइसकेको हुन्छ! 22हिउँका भण्डारहरूभित्र तँ पसेको छस्? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस्? 23यी कुराहरू मैले सङ्कष्टको समयको निम्ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु। 42:1तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने, 2“तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, र तपाईंको कुनै पनि उद्देश्यलाई रोक्न सकिंदैन। 3तपाईंले सोध्नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्हो थियो, जसको बारेमा मलाई थाहा थिएन। 4तपाईंले मलाई भन्नुभयो, 'अब सुन्, र म बोल्नेछु। म तँलाई सोध्नेछु, र तैंले मलाई जवाफ दिनेछस्।' 5तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन्।
साँझको प्रार्थना: पाठ
4परमप्रभु परमेश्वरले मलाई सिकाइएको व्यक्तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्ने वचनहरू बोलूँ। उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ। सिकाइएकाहरूका जस्ता कुरा सुन्न उहाँले मेरा कानलाई खोल्नुहुन्छ। 5परमप्रभु परमेश्वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिट्युँ नै फर्काएँ। 6मलाई पिट्नेहरूलाई मैले आफ्नो ढाड र मेरा दाह्री उखेल्नेहरूलाई आफ्ना गाला दिएँ। लाज र थुकाइका कामहरूबाट मैले आफ्नो मुख लुकाइन। 7किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ। यसकारण म अपमानित भएको छैन। त्यसैले मैले आफ्नो मुहार चक्मक ढुङ्गाझैं बनाएको छु, किनकि म लाजमा पर्दिनँ भनी म जान्दछु। 8मलाई निर्दोष ठहराउनुहुने नजिकै हुनुहुन्छ। कसले मेरो विरोध गर्छ र? हामी खडा हौं र एक-अर्कासँग भिडौं। मलाई दोष लगाउने को हो? त्यो मेरो नजिक आओस्। 9हेर्, परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ। मलाई कसले दोषी घोषणा गर्नेछ? हेर, ती सबै लुगाझैं फाटेर जानेछन्। किराले तिनलाई खानेछ। 10तिमीहरूमध्ये कसले परमप्रभुको भय मान्छ र? उहाँको सेवकको आवाज कसले पालन गर्छ र? घोर अन्धकारमा उज्यलोविना को हिंड्छ र? उसले परमप्रभुको नाउँमा भरोसा गर्नुपर्छ र आफ्नो परमेश्वरमा नै भर पर्नुपर्छ। 11हेर्, आगो बाल्ने र आफैलाई राँकोले सुसज्जित पार्ने तिमीहरू सबै जनाः आफ्नो आगोको उज्यालोमा र आफूले बालेका राँकोमा हिंड। तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्किनेछौ।
पत्र
23मैले जे परमेश्वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्टले धोका पाएको त्यो रात रोटी लिनुभयो। 24धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्नुभयो र भन्नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो। मेरो सम्झनाको निम्ति यो गर।” 25त्यसरी नै खाइसक्नुभएपछि कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर।” 26जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ। 27यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ। 28कुनै व्यक्तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस्। 29किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ। 30त्यसकारण, तिमीहरूमध्ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन्। 31तर यदि हामीले आफैँलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्नेछैनौँ। 32तर जब हामी परमेश्वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ।
सुसमाचार (संयुक्त पाठ)
मत्ती 26:1–20 · यूहन्ना 13:3–17 · मत्ती 26:21–39 · लुका 22:43–45 · मत्ती 26:40–27:2
1येशूले यी सबै वचन भनिसक्नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 2“तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ।” 3त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए। 4तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्त्र गरे। 5किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्चियोस्।” 6अनि जब येशू बेथानियामा सिमोन भन्ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, 7उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई। 8तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो? 9यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो।” 10तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन्। 11गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन। 12किनकि जब यी स्त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन्। 13साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ।” 14त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो, 15र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्का छुट्ट्याइदिए। 16त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो। 17अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?” 18उहाँले भन्नुभयो, “सहरमा एक जना व्यक्तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ। म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु।’” 19येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे। 20जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्नुभयो। 13:3येशूले जान्नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो। 4उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो। त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो। 5त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो। 6उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?” 7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ।” 8पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन।” 9सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस्।” 10येशूले तिनलाई भन्नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ।” 11(किनकि कसले उहाँलाई विश्वासघात गर्थ्यो भन्ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ।”) 12त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्ने के तिमीहरू जान्दछौ?” 13तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ। 14तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ। 15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक। 16साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ। 17यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ। 26:21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” 22उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्न थाले, “प्रभु, म त निश्चय नै होइन होला?” 23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ। 24मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ। तर धिक्कार त्यस व्यक्तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो व्यक्ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो।” 25यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैँले त्यो भनेका छौ।” 26उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्नुभयो। उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ। यो मेरो शरीर हो।” 27उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्नुभयो, “तिमीहरू सबैले यसलाई पिओ। 28किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ। 29तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन।” 30उहाँहरू सबैले भजन गाइसक्नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्नुभयो। 31त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन्।’ 32तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” 33तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।” 34येशूले उनलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आज राती भाले बास्नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ।” 35पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाले पनि त्यसै भने। 36त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस।” 37उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो। 38त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ। यहीँ बस र मसँगै जागा रहो।” 39उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्टो पर्नुभयो र प्रार्थना गर्नुभयो। उहाँले भन्नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस्। तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस्।” 22:43तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्ति दिए। 44पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए। 45जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। 26:40उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ? 41जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर। आत्मा त तयार छ, तर शरीर भने कमजोर छ।” 42उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस्।” 43उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। 44त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो। उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्याउनुभयो। 45त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ। 46उठ, अब हामी जाऔँ। हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ।” 47जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए। मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो। तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए। 48अब जुन व्यक्तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन्। उनलाई नै पक्रनू।” 49तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्यो। 50येशूले उसलाई भन्नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे। 51हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्यो, अनि उसको कान काटिदियो। 52त्यसपछि येशूले उसलाई भन्नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्ट पारिनेछन्। 53के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्न र? 54तर यस्तो हुनुपर्छ भनी धर्मशास्त्रले भनेको कसरी पुरा हुने थियो त?” 55त्यति बेला येशूले भिडलाई भन्नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ। 56तर यी सबै कुरा भए, ताकि अगमवक्ताहरूले लेखेका कुरा पुरा हुन सकून्।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे। 57जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए। 58तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे। उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे। 59अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए। 60थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन्। तर पछि दुई जना अगि आए, 61र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’।” 62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?” 63तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हौ?” 64येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्नुभएको छ। तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्तिमान्को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्नुहुनेछ।” 65त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्वर-निन्दा गरेको छ। अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्वर-निन्दा सुन्नुभएको छ। 66तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ।” 67त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए, 68र भने, “हे ख्रीष्ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?” 69अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?” 70तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन।” 71जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्ति पनि नासरतको येशूसँग थियो।” 72अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ।” 73त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ।” 74त्यसपछि उनले सराप्न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो। 75अनि येशूले भन्नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए। 27:1अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे। 2तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए।
सुसमाचार (गोडा धुने समयमा)
1अब निस्तार-चाडअगि येशू जान्नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो। 2अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो। 3येशूले जान्नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो। 4उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो। त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो। 5त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो। 6उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?” 7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ।” 8पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन।” 9सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस्।” 10येशूले तिनलाई भन्नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ।” 11(किनकि कसले उहाँलाई विश्वासघात गर्थ्यो भन्ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ।”)
सुसमाचार (गोडा धोइसकेपछि)
12त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्ने के तिमीहरू जान्दछौ?” 13तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ। 14तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ। 15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक। 16साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ। 17यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अप्रिल 16 नागरिक पात्रोमा अप्रिल 29 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार