Bible Explorer एप लिनुहोस्

बाइबल › अय्यूब › 38

ULB · अध्याय 38 / 42

अय्यूब 38

1तब परमप्रभुले अय्यूबलाई प्रचण्ड आँधीबाट बोलाउनुभयो र यसो भन्‍नुभयो,

2“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?

3अब एक जना मानिसले झैं आफ्‍नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले जवाफ दिनुपर्छ।

4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन्।

5यसको नाप कसले निधो गर्‍यो? तँलाई थाहा भए मलाई भन्। यसमाथि कसले नाप्ने धागो टाँग्यो?

6के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो?

7कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए।

8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो?

9कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ?

10त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,

11अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन। तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु।'

12के तैंले बिहानीलाई आज्ञा दिएको, अथवा मिरमिरेलाई त्‍यसको ठाउँ चिनाएको छस्,

13जसको कारणले त्‍यसले पृथ्वीको छेउ समातोस्, अनि दुष्‍टहरूलाई त्यहाँबाट हटाउनलाई हल्लाओस्?

14छाप मुनिको माटोको आकार बदलिएझैं स्‍वरूपमा पृथ्वी बद्लिन्छ। एउटा लुगा कच्‍चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन्।

15दुष्‍टहरूबाट तिनीहरूको 'ज्योति' लगिन्छ। तिनीहरूको उठाइएको पाखुरा भाँचिन्छ।

16के तँ समुद्रको पानीको मूलमा गएको छस्? के तँ गहिरोभन्दा गहिरो ठाउँमा हिंडेको छस्?

17के मृत्युका ढोकाहरू तँलाई देखाइएको छ? के तैंले मृत्युका छायाका ढोकाहरू देखेको छस्?

18के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन्।

19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?

20ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस्?

21त्यति बेला नै तेरो जन्म भएको भए निस्सन्देह, तँलाई थाहा हुन्‍छ। तेरो उमेर धेरै भइसकेको हुन्छ!

22हिउँका भण्डारहरूभित्र तँ पसेको छस्? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस्?

23यी कुराहरू मैले सङ्कष्‍टको समयको निम्‍ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु।

24बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ?

25झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,

26कुनै व्‍यक्ति नरहने ठाउँ र कोही नभएको उजाड-स्थानमा पानी पार्नलाई,

27सर्वनाश भएको र उजाड ठाउँहरूलाई हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई?

28के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो?

29कसको गर्भबाट बरफको जन्‍म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?

30पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ। महासागरको सतह जमेको हुन्‍छ।

31के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्‍न सक्छस्? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?

32के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस्? के तैंले सप्‍तर्षि तारा र त्यसको दललाई डोर्‍याउन सक्छस्?

33के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्?

34के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ?

35के तैँल बिजुलीका चमकहरूलाई पठाउन सक्छस् जसले गर्दा ती बाहिर जान सकून्, तिनले तँलाई यसो भनून्, 'हामी यहाँ छौं?'

36बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ?

37कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ,

38जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?

39के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्‍त पार्न सक्छस्,

40जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्‍तमा लुकेर पर्खिरहन्‍छन्?

41कागका बचेराहरूले परमेश्‍वरमा पुकारा गर्दा, र खानेकुराको अभावले भाउन्‍न हुँदा, कसले तिनलाई आहार जुटाइदिन्छ?

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org