Bible Explorer एप लिनुहोस्

बाइबल › प्रस्थान › 19

ULB · अध्याय 19 / 40

प्रस्थान 19

1इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे।

2तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले।

3मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए। परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः

4मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ।

5अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन्।

6तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ। तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू।”

7मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए। परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे।

8सबै मानिसले सँगसँगै जवाफ दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौँ।” तब मानिसहरूका वचन परमप्रभुलाई भन्‍न मोशा आए।

9परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु”। तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए।

10परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ जा। आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा।

11तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ।

12तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू। तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ। जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ।'

13यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन। बरु, उसलाई निश्‍चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ। चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ। जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ।”

14तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए। तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए।

15तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ। सहवास नगर।”

16तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो। छाउनीमा भएका सबै मानिस थरथर काँपे।

17परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए।

18सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो। भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो।

19जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो।

20परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो। त्यसैले मोशा माथि उक्ले।

21परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन्।

22मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस्।”

23मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू'।”

24परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज। तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु।”

25त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org