गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अप्रिल › अप्रिल 28
अर्थोडक्स पात्रो · अप्रिल 15 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 अप्रिल 28
बुधबार · पवित्र हप्ता
पर्व र सन्तहरू
महान् र पवित्र बुधबार
महान् उपवास
कडा उपवास (सुक्खा खाना: रोटी, तरकारी, फलफूल)
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
सुसमाचार (दुलहाको बिहानको प्रार्थना)
17उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो। 18यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न गर्नुभयो भन्ने तिनीहरूले सुने। 19यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्यसको पछि लागेको छ।” 20अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए। 21यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ।” 22फिलिपले गएर अन्द्रियासलाई भने। अनि अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने। 23येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ। 24साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ। 25जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्नेछ। 26यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ। यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ। 27अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस्? तर यही कारणको निम्ति म यो घडीमा आएँ। 28हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस्।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु।” 29तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्यौ भने। अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो।” 30येशूले जवाफ दिनुभयो र भन्नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो।” 31अब यो संसारको न्याय हुन्छ, अब यस संसारको शासक फ्याँकिनेछ। 32अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिँच्नेछु।” 33कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्ने सङ्केत गर्न उहाँले यो कुरा भन्नुभएको थियो। 34भिडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौँ, कि ख्रीष्ट सधैँ रहनुहुनेछ। तपाईं कसरी भन्नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हो?” 35तब येशूले तिनीहरूलाई भन्नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ। तिमीहरूसँग ज्योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै छ भनी त्यसलाई थाहा हुँदैन। 36तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्वास गर, ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक।” येशूले यी कुराहरू भन्नुभयो र त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्नुभयो। 37तिनीहरूको सामु येशूले यति धेरै चिह्नहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्वास गरेनन्। 38यशैया अगमवक्ताको वचन पुरा होस् भनेर यसो भएको थियो। तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमेश्वरको बाहुली कसलाई प्रकट गरिएको छ?” 39यसैकारण, तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने, 40“उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्ने थिए र उनीहरूका हृदयले बुझ्ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ।” 41यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले। 42तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस्। 43तिनीहरूले परमेश्वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए। 44येशूले ठुलो सोरमा भन्नुभयो, “जसले ममाथि विश्वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ, 45र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ।” 46म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्वास गर्छ त्यो अन्धकारमा नरहोस्। 47यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ। 48जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ। 49किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले मैले के बोल्ने र के भन्ने विषयमा आज्ञा दिनुभएको छ। 50म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो। त्यसैले, म त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्छु।
छैटौँ घडी
3उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्मै मेरो विरुद्धमा पाप गरेका छन्। 4तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन्। तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्नेछस्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ।' 5तिनीहरूले सुन्नेछन् वा सुन्नेछैनन्। तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्ना बिचमा एक जना अगमवक्ता छन् भनी जान्नेछन्। 6ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्छीहरूका बिचमा बसे तापनि तँ नडरा। तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्। 7तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्नेछस्, किनकि तिनीहरू ज्यादै विद्रोही छन्। 8तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन्। त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो। तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!” 9तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो। त्यसमा एउटा लेखिएको मुट्ठो थियो। 10उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो। त्यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए। 3:1उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्यो खा। यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन्।” 2यसैले मैले आफ्नो मुख खोलें, र उहाँले त्यो मुट्ठो मलाई खुवाउनुभयो। 3उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्यो मुट्ठो खा र यसले तेरो पेट भर।” यसैले मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं गुलियो थियो।
साँझको प्रार्थना: पाठ
11जब मोशा हुर्के तिनी आफ्नो जातिकहाँ गए र तिनीहरूको कठिन कामलाई अवलोकन गरे। मोशाको आफ्नै जातिको कुनै एउटा मानिसलाई एउटा मिश्रीले हिर्काइरहेको तिनले देखे। 12तिनले दायाँबायाँ हेरे र कोही नदेखेपछि त्यस मिश्रीलाई मारेर त्यसको लाशलाई बालुवामुनि पुरिदिए। 13अर्को दिन पनि तिनी बाहिर निस्के र दुई जना हिब्रू एक-अर्कामा झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेचाहिँलाई भने, “तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?” 14तर त्यस मानिसले भन्यो, “कसले तिमीलाई हाम्रो अगुवा र न्यायकर्ता बनायो? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ?” तब मोशा डराएर भने, “निश्चय नै, मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन्।” 15फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे। तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ तिनी कुवानेर बसे। 16अब मिद्यानका पूजाहारीका सात छोरी थिए। तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे। 17गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे। त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए। 18जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे, “आज तिमीहरू किन यति चाँडै घर आएका छौ?” 19तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए। तिनले हाम्रो निम्ति पानी तान्नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए।” 20तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून्।” 21मोशा ती मानिससित बस्न राजी भए जसले तिनलाई आफ्नी छोरी सिप्पोरा विवाहको लागि दिए। 22उनले एउटा छोरो जन्माइन् र मोशाले त्यसको नाउँ गेर्शोम राखे। तिनले भने, “म विदेशी भूमिमा प्रवासी भएको छु।”
साँझको प्रार्थना: पाठ
1तब अर्को दिनमा परमेश्वरका छोराहरूले आफैलाई परमप्रभुको सामु उपस्थित गराउनलाई आए। शैतान पनि परमप्रभुको सामु आफैलाई उपस्थित गराउन तिनीहरूसँगै आयो। 2परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ।” 3परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ। विनाकारण त्यसलाई नाश गर्न त्यसको विरुद्धमा तैंले मलाई भ्रममा पारेको भए तापनि त्यसले अझै आफ्नो निष्ठामा कायम राखेको छ।” 4शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “वस्तवमा नै छालाको साटो छाला हुन्छ। एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ। 5तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन्।” 6परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्यो तेरै हातमा छ। त्यसको जीवन मात्र चाहिं तैंले छोड्नैपर्छ।” 7तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो। त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो। 8आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे। 9तब तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्।” 10तर तिनले उनलाई भने, “एक जना मूर्ख स्त्रीले बात गरेझैं तिमी बात गर्छ्यौ। के हामीले परमेश्वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन्।
सुसमाचार (पहिले नै पवित्र पारिएका उपहारहरूको धर्मविधि)
6अनि जब येशू बेथानियामा सिमोन भन्ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, 7उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई। 8तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो? 9यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो।” 10तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन्। 11गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन। 12किनकि जब यी स्त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन्। 13साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ।” 14त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो, 15र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्का छुट्ट्याइदिए। 16त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अप्रिल 15 नागरिक पात्रोमा अप्रिल 28 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार