Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › सुसमाचारहरू सँगसँगै › गालीलमा

सुसमाचारहरू सँगसँगै · गालीलमा

याइरसकी छोरी र उहाँको वस्‍त्र छुने स्‍त्री

मत्ती 9:18–26 · मर्कूस 5:21–43 · लुका 8:40–56

मत्ती

मत्ती 9:18–26

18जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे। तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईंले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन्।”

19त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्‍नुभयो र उहाँका चेलाहरू पनि पछि लागे।

20हेर, बाह्र वर्षदेखि धेरै रगत बग्‍ने एक जना स्‍त्री येशूको पछाडि आइन्, र उहाँको वस्‍त्रको छेउ छोइन्।

21किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु।”

22तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्‍नुभयो, र भन्‍नुभयो “छोरी, साहस गर। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि ती स्‍त्री तुरुन्तै निको भइन्।

23जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो।

24उहाँले भन्‍नुभयो, “पर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन्।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे।

25जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्‍नुभयो, र ती युवती उठिन्।

26यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो।

मर्कूस

मर्कूस 5:21–43

21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो।

22यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए। जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे।

23उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे। म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्‍न सकून्।”

24त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे।

25त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन्।

26तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन्। तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो।

27तर तिनले येशूको बारेमा सुनेकी थिइन्। त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन्।

28किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु।”

29जब तिनले उहाँलाई छोइन्, रगत बग्‍न रोकियो, अनि तिनले आफू आफ्‍नो कष्‍टबाट निको भएकी महसुस गरिन्।

30येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो। अनि उहाँ भिडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो?”

31उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्‍नुहुन्छ, अनि तपाईं भन्‍नुहुन्छ ‘मलाई कसले छोयो’?”

32तर येशूले यो कसले गरेको थियो भनी देख्‍न वरिपरि हेर्नुभयो।

33ती स्‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन्। तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन्।

34उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ।”

35उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी। अब गुरुलाई किन दुःख दिने?”

36तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ। विश्‍वास मात्र गर।”

37उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन।

38उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्‍नुभयो।

39जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो।”

40उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो।

41उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ।”

42तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्)। अनि तिनीहरू अत्यन्तै चकित भए।

43उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो। अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो।

लुका

लुका 8:40–56

40जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए।

41हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए। याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे।

42किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन्। तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो।

43त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन्। तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन्।

44तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्‍तश्राव रोकियो।

45येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन्।”

46तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोयो, किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ।”

47जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन्।

48त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्तिसँग जाऊ।”

49जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन्। गुरुलाई दुःख नदेऊ।”

50तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन्।”

51जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन।

52अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए। तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन्।”

53तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे।

54तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ।”

55तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन्। उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो।

56तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार