Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › सुसमाचारहरू सँगसँगै › गालीलमा

सुसमाचारहरू सँगसँगै · गालीलमा

मानिसलाई के कुराले अशुद्ध पार्छ

मत्ती 15:1–20 · मर्कूस 7:1–23

मत्ती

मत्ती 15:1–20

1त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए। तिनीहरूले भने,

2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”

3येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्दछौ?

4किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्यो निश्‍चय नै मर्नेछ।’

5तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो’ भनेर भन्दछ भने,

6त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन। यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ।

7ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,

8‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन्।

9तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’।”

10त्यसपछि उहाँले भिडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ–

11मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन। बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँदछ।”

12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?”

13येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ।

14तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन्।”

15पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस्।”

16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?

17के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ।

18तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन्। यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन्।

19किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन्।

20यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन्। तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन।”

मर्कूस

मर्कूस 7:1–23

1यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए।

2तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे।

3(फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्,

4जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन्। कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्‍ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन्।)

5फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”

6तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ।’

7तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन्।

8तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ।”

9अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक!

10किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ।’

11तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ)।”

12तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ।

13तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ। र तिमीहरू त्यस्तै धेरै काम गर्छौ।”

14उहाँले भिडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ।

15व्यक्‍तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्‍ने त्यस्तो कुनै कुरा छैन। व्यक्‍तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ।”

16यदि कुनै मानिससित सुन्‍ने कान छ भने त्यसले सुनोस्।

17जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नुभयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे।

18येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,

19किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो।

20उहाँले भन्‍नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ।

21किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,

22व्यभिचार, लोभ, दुष्‍टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।

23यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन्।”

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार