गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अप्रिल › अप्रिल 26
अर्थोडक्स पात्रो · अप्रिल 13 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 अप्रिल 26
सोमबार · पवित्र हप्ता
पर्व र सन्तहरू
महान् र पवित्र सोमबार
महान् उपवास
कडा उपवास (सुक्खा खाना: रोटी, तरकारी, फलफूल)
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
सुसमाचार (दुलहाको बिहानको प्रार्थना)
18बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो। 19उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन। उहाँले त्यसलाई भन्नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस्।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो। 20जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?” 21येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ। 22तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।” 23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?” 24येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु। यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु। 25यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर भन्नेछन्। 26तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्नालाई एक अगमवक्ताको रूपमा हेर्दथे।” 27तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” उहाँले पनि तिनीहरूलाई भन्नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ। 28तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए। उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर।’ 29त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्ल्यो र गयो। 30र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने। यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन। 31यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्यो?” तिनीहरूले भने, “पहिलो चाहिँले।” येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। 32किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्वास गरे। र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्वास गर्नलाई पछि तिमीहरूले पश्चात्ताप पनि गरेनौ। 33अर्को दृष्टान्त सुन। एक जना मानिस थिए, जो जमिन मालिक थिए। उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्का दिए। त्यसपछि उनी अर्कै देशमा गए। 34जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए। 35तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए। 36फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे। 37त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन्।’ 38तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ।’ 39यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे। 40जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?” 41तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन्।” 42येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ?’ 43यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ।
छैटौँ घडी
1तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्तो भयो। आकाश खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें। 2त्यस महिनाको पाँचौं दिनमा— यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो— 3कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो, र त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो। 4तब मैले हेरें, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो। एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्यसको वरिपरि र भित्र चहकिलो उज्यालो थियो, र त्यस आगोको माझ जल्दो पहेंलो धातुझैं थियो। 5माझमा चार जीवित प्राणीहरूजस्ता थिए। तिनीहरूका स्वरूप यस्तो थियोः तिनीहरू मानिसको स्वरूपजस्ता थिए, 6तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए। 7तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्ता थिए जो टल्काइराखेका काँसाजस्तै टल्कन्थे। 8तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए। ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः 9एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए। बरु, हरेक सोझै अगाडि हिंड्थ्यो। 10तिनीहरूका मुहार मानिसको झैं थियो। ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो। ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो। 11तिनीहरूका मुहार यस्तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्तिर फैलिएका थिए। हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्ना शरीर ढाकेका थिए। 12तिनीहरू हरेक सोझै हिंड्थे, ताकि आत्माले जता-जता लग्यो तिनीहरू त्यतै जान्थे, तिनीहरू यताउता नफर्की हिंड्थे। 13ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्ग्रोजस्तो, राँकोहरूजस्ता थिए। ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्यहाँ बिजुलीका चमकहरू थिए। 14ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्थे। 15तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्ग्रा देखें। 16ती पाङ्ग्राहरूका आकार र बनावट यस्ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्तै थिए, र ती चारैवटा उस्तै किसिमका थिए। एउटा पाङ्ग्रो अर्को पाङ्ग्रोमा खप्टिएको भएझैं थियो। 17जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्थे। 18तिनीहरूका घेरा अल्गा र डरलाग्दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए। 19जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्ग्राहरू पनि साथसाथै हिंड्थे। जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि उठ्थे। 20आत्मा जता जानुहुन्थ्यो तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा तिनै पाङ्ग्रामा थिए।
साँझको प्रार्थना: पाठ
1याकूबसँगै मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्: 2रूबेन, शिमियोन, लेवी र यहूदा, 3इस्साखार, जबूलून, र बेन्यामीन, 4दान, नप्ताली, गाद र आशेर। 5याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो। योसेफ पहिले नै मिश्रमा थिए। 6त्यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्यो सबै पुस्ता मरे। 7इस्राएलीहरू फल्दै-फुल्दै र सङ्ख्यामा अत्यधिक बढ्दै गए, अनि तिनीहरू शक्तिशाली भए र तिनीहरूद्वारा देश भरियो। 8त्यसपछि योसेफको बारेमा थाहा नपाउने नयाँ राजाले शासन गर्न थाले। 9तिनले आफ्ना मानिसहरूलाई भने, “हेर, इस्राएलीहरू सङ्ख्यामा हामीभन्दा बढी भएका छन् र तिनीहरू हामीभन्दा शक्तिशाली भएका छन्। 10आओ, तिनीहरूसित बुद्धिमानीपूर्वक काम गरौँ नत्रभने तिनीहरूको सङ्ख्या वृद्धि भइरहनेछ। युद्ध भयो भने तिनीहरू हाम्रा शत्रुहरूसित मिल्न गई हाम्रै विरुद्धमा लड्नेछन् र देश छाडेर जानेछन्।” 11त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए। इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए। 12तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले। त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले। 13मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए। 14मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए। तिनीहरूले लगाएका कामहरू कठिन थिए। 15तब मिश्रका राजाले शिप्रा र पूआ नाम गरेका हिब्रू सुँडिनीहरूलाई भने, 16“हिब्रू स्त्रीहरूले बच्चा जन्माउने बेलामा तिमीहरूले तिनीहरूको हेरचाह गर्दा अवलोकन गर। छोरो रहेछ भने तिमीहरूले त्यसलाई मार। 17तर छोरी रहेछ भने त्यसलाई जीवितै राख।” तर सुँडिनीहरू परेमश्वरदेखि डराउँथे। त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे। 18मिश्रका राजाले तिनीहरूलाई बोलाएर भने, “तिमीहरूले किन यसो गरेर छोराहरूलाई पनि जीवितै राखेका छ्यौ?” 19ती सुँडिनीहरूले फारोलाई जवाफ दिए, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्। तिनीहरू हट्टाकट्टा छन् र सुँडिनी पुग्नुभन्दा पहिले नै तिनीहरूले बच्चा जन्माइसकेका हुन्छन्। 20परमेश्वरले यी सुँडिनीहरूलाई जोगाउनुभयो। इस्राएलीहरू सङ्ख्यामा बढ्दै गए र तिनीहरू शक्तिशाली भए।
साँझको प्रार्थना: पाठ
1ऊज भन्ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो। अनि अय्यूब दोषरहित र सोझा थिए जो परमेश्वरको भय मान्थे, र खराबीबाट फर्कन्थे। 2तिनका सात जना छोरा र तीन जना छोरी जन्मिएका थिए। 3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए। तिनी पूर्वमा भएका सबै मानिसहरूमध्ये सबभन्दा महान् मानिस थिए। 4हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्थे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे। 5जब भोजका दिनहरू समाप्त हुन्थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे। तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्वरलाई सरापेका हुन सक्छन्।” अय्यूबले सधैं यसै गर्थै। 6तब एक दिन परमेश्वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए। शैतान पनि तिनीहरूसँगै आयो। 7परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ।” 8परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ।” 9तब शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “के अय्यूबले विनाकारण परमेश्वरको भय मान्छन् र? 10के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन्। 11तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन्।” 12परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्योसित भएका सबै थोक तेरै हातमा छ। त्यसलाई मात्र तेरो हातले नछो।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्तै गयो।
सुसमाचार (पहिले नै पवित्र पारिएका उपहारहरूको धर्मविधि)
3जब उहाँ जैतून डाँडामा वस्नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्कै आए र भने, “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?” 4येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस्।” 5किनकि मेरो नाउँमा धेरै जना आउनेछन्। किनकि तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ!’ र धेरैलाई भड्काउनेछन्। 6तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्नेछौ। तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन। 7किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ। विभिन्न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन्। 8तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो। 9तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन्। मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ। 10तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन्। 11धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन्। 12किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ। 13तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ। 14राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ। तब अन्त आउनेछ। 15त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस), 16जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्, 17जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस्। 18र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस्। 19तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्! 20हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर। 21किनकि त्यस बेला महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ। 22ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन। तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्। 23तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्!’ वा, ‘ख्रीष्ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्वास नगर। 24किनकि झुटा ख्रीष्टहरू र झुटा अगमवक्ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्। 25हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु। 26त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ। वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्वास नगर। 27किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। 28जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन्। 29तर ती दिनमा सङ्कष्ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गका शक्तिहरू डगमगाउनेछन्। 30तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र ठुलो महिमासाथ आउँदै गरेको देख्नेछन्। 31उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन्। 32अन्जीरको बोटबाट पाठ सिक। जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ। 33त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्नुपर्छ। 34साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन। 35स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अप्रिल 13 नागरिक पात्रोमा अप्रिल 26 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार