ULB · अध्याय 1 / 48
इजकिएल 1
1तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्तो भयो। आकाश खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें।
2त्यस महिनाको पाँचौं दिनमा— यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो—
3कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो, र त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो।
4तब मैले हेरें, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो। एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्यसको वरिपरि र भित्र चहकिलो उज्यालो थियो, र त्यस आगोको माझ जल्दो पहेंलो धातुझैं थियो।
5माझमा चार जीवित प्राणीहरूजस्ता थिए। तिनीहरूका स्वरूप यस्तो थियोः तिनीहरू मानिसको स्वरूपजस्ता थिए,
6तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए।
7तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्ता थिए जो टल्काइराखेका काँसाजस्तै टल्कन्थे।
8तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए। ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः
9एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए। बरु, हरेक सोझै अगाडि हिंड्थ्यो।
10तिनीहरूका मुहार मानिसको झैं थियो। ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो। ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो।
11तिनीहरूका मुहार यस्तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्तिर फैलिएका थिए। हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्ना शरीर ढाकेका थिए।
12तिनीहरू हरेक सोझै हिंड्थे, ताकि आत्माले जता-जता लग्यो तिनीहरू त्यतै जान्थे, तिनीहरू यताउता नफर्की हिंड्थे।
13ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्ग्रोजस्तो, राँकोहरूजस्ता थिए। ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्यहाँ बिजुलीका चमकहरू थिए।
14ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्थे।
15तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्ग्रा देखें।
16ती पाङ्ग्राहरूका आकार र बनावट यस्ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्तै थिए, र ती चारैवटा उस्तै किसिमका थिए। एउटा पाङ्ग्रो अर्को पाङ्ग्रोमा खप्टिएको भएझैं थियो।
17जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्थे।
18तिनीहरूका घेरा अल्गा र डरलाग्दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए।
19जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्ग्राहरू पनि साथसाथै हिंड्थे। जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि उठ्थे।
20आत्मा जता जानुहुन्थ्यो तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा तिनै पाङ्ग्रामा थिए।
21जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे। अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्थे। ती प्राणीहरू जमिनबाट उठ्दा यी पाङ्ग्रा पनि तिनीहरूसँगै उठेर जान्थे, किनभने ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्रामा नै थिए।
22ती जीवित प्राणीहरूका शिरको मास्तिर विशाल अर्धगोलाकार क्षेत्रजस्तै थियो। त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो।
23त्यो विशाल अर्धगोलाकार क्षेत्र मुन्तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्थ्यो। हरेक जीवित प्राणीका आफूलाई ढाक्ने एकजोडी पखेटा थिए। हरेकसित आफूलाई ढाक्ने जोडी थियो।
24तब मैले तिनीहरूका पखेटाको आवाज सुनें। त्यो आवाज धेरै पानीको हल्लाजस्तै थियो। जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्को आवाजजस्तो हुन्थ्यो। आँधीको वर्षाजस्तो थियो। सेनाको आवाजजस्तो थियो। जब तिनीहरू ठिङ्ग उभिन्थे, तब तिनीहरूले आफ्ना पखेटा तल झार्थे।
25जब तिनीहरू ठिङ्ग उभिए र आफ्ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो।
26तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो जुन हेर्दा त्यो नीलमणीजस्तै देखिन्थ्यो, र त्यो सिंहासनजस्तोमा बस्नेको स्वरूप मानिसको जस्तो थियो।
27मैले उहाँको कम्मरदेखि मास्तिर जल्दो धातुजस्तै भएको एउटा आकृति देखें। उहाँको कम्मरदेखि मुन्तिरको आकृति पनि आगोजस्तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्यालोले घेरिराखेको थियो।
28उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्द्रेनीको आकारझैं उज्ज्वल थियो। त्यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्थ्यो। जब मैले त्यो देखें तब म घोप्टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org