25त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर। के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान् हुँदैन र?
26आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?
27अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र?
28अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन्। तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन्।
29र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन्।
30यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो?
31त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’
32किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ।
33तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ।
34त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ। हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ।