ULB · अध्याय 6 / 28
मत्ती 6
1तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ।
2त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक। साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
3तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दै छ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्,
4ताकि तिमीहरूको दान गुप्तमा होस्। त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
5अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
6तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ। ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्तमा रहनुहुन्छ। त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
7अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन्।
8त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्नुहुन्छ।
9त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
10तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस्।
11हामीलाई आज दिनभरिको भोजन दिनुहोस्।
12हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ।
13र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस्। किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन।’
14किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ।
15तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।
16साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
17तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर।
18यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ। अनि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
19पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन्।
20बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ, न त चोरले चोरेर लैजान्छ।
21किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ।
22आँखा शरीरको निम्ति बत्ती हो। त्यसैकारण, यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ।
23तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ। त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला!
24कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
25त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर। के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान् हुँदैन र?
26आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?
27अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र?
28अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन्। तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन्।
29र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन्।
30यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो?
31त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’
32किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ।
33तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ।
34त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ। हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org