13जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो। जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए।
14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो। उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो।
15जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो। भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून्।”
16तर येशूले उनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन। यिनीहरूलाई तिमीहरूले केही खान देओ।”
17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्।”
18येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ।”
19अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो। माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो। चेलाहरूले ती भिडहरूलाई दिए।
20तिनीहरू सबैले खाए र टन्न भए। त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले।
21त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए।