Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › सुसमाचारहरू सँगसँगै › पुनरुत्थान

सुसमाचारहरू सँगसँगै · पुनरुत्थान

खाली चिहान

मत्ती 28:1–10 · मर्कूस 16:1–8 · लुका 24:1–12 · यूहन्ना 20:1–10

मत्ती

मत्ती 28:1–10

1अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए।

2हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे।

3तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो।

4पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए।

5स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ।

6उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ। आएर प्रभुलाई राखिएको ठाउँ हेर।

7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ। हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ। त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु।”

8ती स्‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे।

9हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे।

10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ। जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ। त्यहाँ तिनीहरूले मलाई भेट्नेछन्।”

मर्कूस

मर्कूस 16:1–8

1जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून्।

2हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए।

3तिनीहरूले एक आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”

4जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो।

5उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्‍क परे।

6तिनले तिनीहरूलाई भने, “नडराओ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर।

7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ। उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ।

8तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्‍क परे। तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए।

लुका

लुका 24:1–12

1हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए।

2तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए।

3तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन्।

4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए।

5ती स्‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”

6उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ।

7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ।”

8तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे।

9र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए।

10अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए।

11तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन्।

12यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे। तब पत्रुस आश्‍चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे।

यूहन्ना

यूहन्ना 20:1–10

1हप्‍ताको पहिले दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन।

2यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ।”

3तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए।

4तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे।

5तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन्।

6सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए। तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,

7अनि उहाँको शिरको कपडा पनि देखे। यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै पट्‌ट्याइएको थियो।

8त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे।

9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन्।

10यसकारण चेलाहरू फेरि घर गए।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार