24:18सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हमुतल थियो। तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन्।
24:19परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे। यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे।
24:20परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे। त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।
25:1राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए। तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले।
25:2त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो।
25:3त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन।
25:4तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए। राजा अराबाको दिशातिर गए।
25:5तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए। तिनका सबै सेना तिनीबाट तितर-बितर भए।
25:6तिनीहरूले राजालाई गिरफ्तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए।
25:7तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए।
25:8अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए।
25:9परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए। सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए।
25:10अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्ट पारिदिए।
25:11बेबिलोनका राजालाई वेवास्ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्बन्धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे।
25:12तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी र खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए।
25:13परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे।
25:14भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे।
25:15राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए।
25:16सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्नै सकिंदनथ्यो।
25:17पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो। स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो।
25:18अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए।
25:19सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे। मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्ट मानिसलाई पनि तिनले कैद गरेर लगे।
25:20तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए।
25:21बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो।