Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › सुसमाचारहरू सँगसँगै › यरूशलेममा

सुसमाचारहरू सँगसँगै · यरूशलेममा

अन्त्यका चिन्हहरू

मत्ती 24:3–14 · मर्कूस 13:3–13 · लुका 21:7–19

मत्ती

मत्ती 24:3–14

3जब उहाँ जैतून डाँडामा वस्‍नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए र भने, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?”

4येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस्।”

5किनकि मेरो नाउँमा धेरै जना आउनेछन्। किनकि तिनीहरूले भन्‍नेछन्, ‘म नै ख्रीष्‍ट हुँ!’ र धेरैलाई भड्काउनेछन्।

6तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ। तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन।

7किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ। विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन्।

8तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो।

9तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन्। मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ।

10तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन्।

11धेरै झुटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन्।

12किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ।

13तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ।

14राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ। तब अन्त आउनेछ।

मर्कूस

मर्कूस 13:3–13

3जब उहाँ मन्दिरको सामुन्‍ने पर्ने जैतूनको डाँडामा बस्‍नुभयो, पत्रुस, याकूब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई गुप्‍तमा सोधे,

4“हामीलाई भन्‍नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्‍दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?”

5येशूले तिनीहरूलाई भन्‍न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस्।”

6मेरो नाउँमा धेरै जना आउनेछन् र भन्‍नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन्।

7जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्‍नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन।

8किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ। धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन्। यी प्रसव-वेदनाको सुरुवात हुन्।

9आफूलाई सचेत राख। तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ। मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ।

10तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ।

11जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर। किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ।

12दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन्। छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन्।

13मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ। तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ।

लुका

लुका 21:7–19

7त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन्?”

8येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर। धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ।’ तिमीहरू तिनीहरूका पछि नजाओ।

9जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन।”

10तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन्।

11त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन्। त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन्।

12तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन्।

13यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ।

14त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच।

15तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु।

16तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ।

17मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन्।

18तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन।

19तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार