गृहपृष्ठ › मण्डली-वर्षका पर्वहरू › क्रिसमस
मण्डली-वर्षका पर्वहरू
क्रिसमस
मत्ती र लुकाले बताएझैँ येशूको जन्म, यशैयाको अगमवाणी र यूहन्नाको सुसमाचारको सुरुसँग, पूरै। पश्चिमी मण्डलीहरूले क्रिसमस 25 डिसेम्बरमा मनाउँछन्; जुलियन पात्रोका अर्थोडक्स मण्डलीहरूले 7 जनवरीमा।
मितिहरू
| वर्ष | पश्चिमी मण्डलीहरूक्रिसमस | अर्थोडक्स मण्डलीख्रीष्टको जन्मोत्सव |
|---|---|---|
| 2026 | 2026 डिसेम्बर 25शुक्रबार | 2027 जनवरी 7बिहीबार |
| 2027 | 2027 डिसेम्बर 25शनिबार | 2028 जनवरी 7शुक्रबार |
| 2028 | 2028 डिसेम्बर 25सोमबार | 2029 जनवरी 7आइतबार |
| 2029 | 2029 डिसेम्बर 25मङ्गलबार | 2030 जनवरी 7सोमबार |
| 2030 | 2030 डिसेम्बर 25बुधबार | 2031 जनवरी 7मङ्गलबार |
एउटा मितिले अर्थोडक्स वा क्याथोलिक पात्रोमा त्यस दिनका पाठहरू खोल्छ।
अर्थोडक्स मितिहरू जुलियन पात्रोअनुसार छन्, जुन रुसी, सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतले मान्छन्: तिनका निश्चित-मितिका पर्वहरू नागरिक पात्रोमा 13 दिनपछि पर्छन्। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया र अरू) क्रिसमस 25 डिसेम्बरमा मनाउँछन्; पास्का र त्यसमा भर पर्ने दिनहरू लगभग सबै अर्थोडक्स मण्डलीमा उस्तै गरी गनिन्छन्।
बाइबल-खण्डहरू
यशैया
2अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ। 3तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ। तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको छ। कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्दित हुन्छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्दित हुन्छन्। 4किनकि त्यसको भरी जुवा, त्यसको पिठ्युको नाल, त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको छ। 5दुश्मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ। 6किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ। अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ। 7दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ।
मत्ती
18येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो। 19तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन्। यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे। 20जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो। 21तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” 22अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए, 23“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्वर हामीसँग।” 24योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्नीको रूपमा स्वीकारे। 25तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन्। र उनले उहाँको नाउँ येशू राखे।
लुका
1ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे। 2कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो। 3त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए। 4योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्थ्यो, किनभने उनी दाऊदको वंशका थिए। 5उनी मरियमसँगै दर्ता गर्न त्यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए। 6तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो। 7उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन्। किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन। 8त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए। 9एक्कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए। 10तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ। 11आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट प्रभु हुनुहुन्छ। 12तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ।” 13एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्यो र तिनीहरूले यसो भन्दै परमेश्वरको प्रंशसा गरे। 14“सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति।” 15जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ।” 16तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे। तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे। 17तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए। 18गोठालाहरूद्वारा भनिएका कुरा सुन्नेहरू जति सबै जना आश्चर्य चकित भए। 19तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन्। 20तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के।
मत्ती
1यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्न लागे, 2“यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ।” 3जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरूशलेम बेचैन भए। 4हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्ट कहाँ छन्?” 5तिनीहरूले उनलाई भने, “यहूदियाको बेथलेहेममा किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो, 6‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नुहुनेछ’।” 7त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए। 8उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज। जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ।” 9तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो। 10जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए। 11तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे। तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे। तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए। 12परमेश्वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो। त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए।
यूहन्ना
1सुरुमा वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो। 2उहाँ सुरुदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो। 3सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो। 5ज्योति अन्धकारमा चम्किन्छ, अनि अन्धकारले यसलाई जितेन। 6परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो। 7उहाँद्वारा सबैले विश्वास गरून् भनेर उहाँ ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो। 8यूहन्ना ज्योति थिएनन्, तर ज्योतिको बारेमा गवाही दिन भनेर उनी आए। 9उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो। 10उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन। 11उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्वीकार गरेनन्। 12तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो। 13यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए। 14अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो। हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ।
कलामा
गोठालाहरूको आराधनाजोर्जोने · 1505/1510
ज्ञानी मानिसहरूको आराधनाफ्रा आन्जेलिको र फ्रा फिलिप्पो लिप्पी · c. 1440/1460
ताराले ज्ञानी मानिसहरूलाई डोऱ्याउँछगुस्ताभ डोरे · 1866
येशूको जन्मड्युरर · c. 1502–3
ज्ञानी मानिसहरूको आराधनाड्युरर · c. 1501–1503
येशूको जन्मड्युरर · 1504
ज्ञानी मानिसहरूको आराधनालुकास भ्यान लेडेन · 1513
सुसमाचार-पुस्तकबाट काटिएको एउटा पाना: येशूको जन्म (recto)अज्ञात चित्रकार, हेल्मार्सहाउजेन · c. 1190
गोठालाहरूलाई शुभसन्देश (Ms. 125, fol. 7, ‘इर्मेनगार्ड कोडेक्स’ बाट)अज्ञात जर्मन चित्रकार · after 1053
ज्ञानी मानिसहरूको आराधना (Ms. Ludwig VII 1, fol. 25v, ‘आशिष्-पुस्तक’ बाट)अज्ञात चित्रकार, रेगेन्सबर्ग · c. 1030–1040
गोठालाहरूकहाँ देखा परेका स्वर्गदूतरेम्ब्रान्ट · 1634
गोठालाहरूको आराधना: बत्तीसहितरेम्ब्रान्ट · c. 1654
थप पर्वहरू
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार