Bible Explorer एप लिनुहोस्

बाइबल › उत्पत्ति › 1

ULB · अध्याय 1 / 50

उत्पत्ति 1

1आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो।

2पृथ्वी निराकार र शून्य थियो। समुद्रको सतहमाथि अन्धकार थियो। परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो।

3परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो।

4परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो। उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो।

5परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन।

6परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस्।”

7परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो। तब त्यस्तै भयो।

8परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन।

9परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस्।” तब त्यस्तै भयो।

10परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो।

11परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस्।” तब त्यस्तै भयो।

12पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो।

13साँझ पर्‍यो र बिहान भयो - तेस्रो दिन।

14परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन्।

15पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन्।” तब त्यस्तै भयो।

16परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।

17पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न

18परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो।

19साँझ पर्‍यो र बिहान भयो - चौथो दिन।

20परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून्।”

21परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो।

22परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ। पृथ्वीमा पक्षीहरू वृद्धि होऊन्।”

23साँझ पर्‍यो र बिहान भयो - पाँचौँ दिन।

24परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो।

25परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो।

26परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून्।”

27परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो। उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो। नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

28परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ। पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख। समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

29परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु। ती तिमीहरूका निम्ति आहारा हुनेछन्।

30पृथ्वीका हरेक जङ्गली जनवारहरू, आकाशका हरेक पक्षीहरू, र सबै घस्रने जन्तुहरू, र जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट-बिरुवाहरू दिएको छु।” तब त्यस्तै भयो।

31परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो। त्यो ज्यादै असल थियो। साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org