Bible Explorer एप लिनुहोस्

बाइबल › उत्पत्ति › 6

ULB · अध्याय 6 / 50

उत्पत्ति 6

1मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,

2परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे। तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए।

3परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन्। तिनीहरू १२० वर्ष बाँच्‍नेछन्।”

4ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए। जब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे। यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए।

5पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।

6पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो।

7यसैले परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु; मानव-जाति र ठुला-ठुला जनावरहरू, घस्रने जन्तुहरू र आकाशमा उड्ने पक्षीहरू सबैलाई नमाेट पार्नेछु, किनकि तिनीहरूलाई बनाएकोमा म दुःखित छु।”

8तर नोआले परमप्रभुको निगाह पाए।

9यिनीहरू नोआ बारेका घटनाहरू थिए। नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए। नोआ परमेश्‍वरसँग हिँडे।

10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए।

11परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको र हिंसाले भरिएको थियो।

12परमेश्‍वरले पृथ्वीलाई देख्‍नुभयो; हेर, यो त भ्रष्‍ट थियो, किनकि पृथ्वीका सबै मानिसहरूका मार्ग भ्रष्‍ट भएका थिए।

13परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “यो सबै प्राणीको अन्त गर्ने समय आएको म देख्‍न सक्छु, किनभने पृथ्वी तिनीहरूको हिंसाले भरिएको छ। वास्तवमा, मैले तिनीहरूलाई पृथ्वीसँगै नष्‍ट पार्नेछु।

14तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू। जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्र लगाउनू।

15तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस्।

16जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू। जहाजको एकपट्टी ढोका राख्‍नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू।

17सुन, जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई सर्वनाश पार्न मैले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु। पृथ्वीमा भएको सबै प्राणी मर्नेछन्।

18तर तँसँग म मेरो करार स्थापित गर्नेछु। तँ, तेरा छोराहरू, तेरी पत्‍नी र तेरा छोराहरूका पत्‍नीहरू जहाजभित्र आउनेछौ।

19हरेक जीवित प्रणीमध्ये ठुला जनावरहरू र

20पृथ्वीमाथि घस्रने जन्‍तुहरूलाई जीवित राख्‍न भाले र पोथी गरी दुइ-दुइ वटा जहाजभित्र ल्याउनू।

21खानलाई र भण्डरण गर्नलाई सबै किसिमका खानेकुराहरू जम्‍मा गर्नू, जुन तेरो र तिनीहरूका निम्‍ति आहारा हुनेछ।”

22यसैले नोआले यो गरे। तिनले परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org